साहित्यपोस्ट डट कम

कविता : एउटा कथा जङ्गलको

कविता : एउटा कथा जङ्गलको

सिंह शक्तिशाली भएरै

जङ्गलको राजा कहलियो

हुन पनि हो, छ पनि त ऊ !

बलमा सबैभन्दा बलियो

बलियोलाई देखेपछि निर्धाको के काम हुन्छ हँ !

उसलाई सहर्‍याउने, फुर्क्याउने, लोलीमा बोली मिलाउने

कहिलेकाहीँ रिसाएर ऊ आक्रोशत भएको बेला

डरले थरथर काँप्दै काँप्दै भए पनि

उसको कानको छेउमा आफ्ना ओठ पुर्‍याउने

अरूका भए–नभएका कुरा सुनाउने

झोसपोल लगाउने

उता फर्केका सिंहलाई आफूतिर फर्काउने

अरूतिर कर्के नजर पारेर

ङ्वारररर ङ्वारररर आवाज निकाल्न सघाउने

अरूलाई भगाएर आफू प्रियपात्र बनेर

उसको छातीमा मस्तले निदाउने

हरेक निर्धाहरूले आफ्नो जीवनमा

शक्तिशालीका अगाडि

यो प्रवृत्ति प्रक्रियागत नै पूरा गर्छन्

कहिले घुँडा टेकेर

कहिले कान समातेर

कहिले कन्सिरी तनाएर

कहिले दण्ड जरिबाना व्यहोरेर

शक्तिका अगाडि बाबा की दुहाई

सबै जनावरहरू खिइँदै जान्छन्

सिंह मोटाउँदै जान्छ

त्यतिखेर उसका आँखाको राप

अग्निको तापभन्दा पोल्ने हुन्छ

उसको बोलीको हुङ्कार

चट्याङभन्दा कडा सुनिन्छ

हो, त्यतिखेर जङ्गलका सबै अन्य प्राणीहरू

नतमस्तक भएर

ख्वामित राजा सिंहको सेवामा

यस्तो बन्छ अवस्था

साँझमा होस् वा रातमा

एक्लै होस् वा होस् कोही साथमा

बिहान होस् वा दिउँसो

खाएर होस् वा भोको

प्रचण्ड गर्मीमा होस्

वा कठ्याङ्ग्रिँदो चिसो

सञ्च होस् वा विसञ्चो

सबै सबै अवस्थामा

बन्छ सिंहको महलमा घन्चमन्च

भोकभोकै भए पनि

प्रताडना सहेरै पनि

थिति बन्छ यस्तो

होडबाजी चल्छ अगुवा हुने को ?

कसले पहिले सिंहलाई छुने

को उसको निकटको सहयोगी हुने

भनेर दौड सुरु हुन्छ प्रतिस्पर्धाको

कहिले खरायो त कहिले जरायो

कहिले मृग त कहिले बिरालो

कहिले कुकुर त कहिले घोडा

कहिले हात्ती त कहिले कछुवा

हुँदाहुँदै एकदिन मौका पाएर

सिंह निदाएको बेलामा

हुँडारले सिंहलाई छुन पायो

सत्तामा कहिल्यै नपुगेको हुँडार

सत्ताको स्वादमा रम्न पायो

अनि त उसले

प्रवृत्तिगत रूपमै आफ्नो स्वभाव देखायो

अरू सेवक सिंहका राम्रा राम्रा अनुहारका

डाल र ताल मिलेका

देखेर रिसले हुँडारले

लखेट्न थाल्यो तिनलाई

घिनलाग्दा ती हुँडारका बथानदेखि

घिनाएर अरू राम्रा र इमानदार जनावरहरू

भाग्न थाले हुँडारसित छुइने डरले

अनि त मिलेर हुँडारका हुलले

निदाएको एउटा बुढो सिंहलाई नै

चारैतिरबाट चिथर्न थाले

यो बेइन्साफी भयो भनेर

बिचरा सुधा चराचुरुङ्गीहरूले

वेदनाको गीत गाए

हुँडारहरू भने यो गीत सुनेर

अझै बेसरी रमाए ।

साझा गर्नुहोस्:
महेशराज खरेल

लेखकको बारेमा

महेशराज खरेल

ताप्लेजुङ, सिनाममा २०१६ मंसीरमा जन्मिनु भएका महेशराज खरेलले राष्ट्रिय वाणिज्य बैंकमा २९ वर्ष सेवा गर्नुभयो । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशन थाल्नु भएका उहाँका दुई कृतिहरू मनको किरण (कविता सङ्ग्रहः २०७७) र यात्रा जिन्दगीको (उपन्यासः २०७९) प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.