साहित्यपोस्ट डट कम

कविता : त्यो एउटा मोडपछि…

कविता : त्यो एउटा मोडपछि…

एउटा कठिन मोडमा छौँ हामी

दोबाटोमा अलमलिँदै, हतासिँदै

अगाडि छ घोर अँध्यारो

हुस्सुले छोपेको अनिश्चित बाटो

मनमा छ केवल अन्योल

अनि क्षितिज पुरै धमिलो

देखिन्न आशाको कुनै सानो दियो

काँडैकाँडाले घेरिएका जीवनका नक्साहरूमा

भोलि के होला यो अँध्यारो रातपछि ?

त्यसैले आऊ

भाग्यको यो खेललाई

साक्षी राखी कसम खाऊँ

आँसु लुकाएर मनभित्र

एउटा बलियो अठोट जगाऊँ ।

यो निष्ठुरी समयलाई नै

साक्षी राखी कसम खाऊँ

आँसु लुकाएर मनभित्र

एउटा बलियो अठोट जगाऊँ।

हो, वेदनाको भारी बोक्नुपर्ला

त्रासको अन्धकारमा हराउनुपर्ला

छातीमा आगोको मुस्लो सहेर

आँखामा आँसुको दह रोएर

उदासीको यो लामो यात्रामा

हामी एक्लै-एक्लै हिँड्नुपर्ला ।

तर जस्तोसुकै आँधी आओस्

या जतिसुकै लामो होस् यो दूरी

आऊ, आज एउटा वाचा गरौँ

हाम्रा यी गोडाहरू जता टेकिए पनि

पाइलाहरू सदा एक-अर्कातर्फ नै लम्किरहुन्

कहिले सुस्तरी त कहिले तुफानसरि दौडौँला, तर

हर दोबाटोमा, हामी एक-अर्कालाई नै रोजौँला !

साझा गर्नुहोस्:
उज्ज्वल भट्टराई

लेखकको बारेमा

उज्ज्वल भट्टराई

उज्ज्वल राज भट्टराई (उराभ) काठमाण्डु, नेपालमा जन्मे, हुर्के, इन्जिनियरको शिक्षादीक्षा लिई अमेरिकामा अध्ययन सकी न्यूयोर्कलाई आफ्नो कर्मभूमि बनाएर दुई दशक भन्दा बढी बिताइसकेका छन् । आगो, पाङ्ग्रा र शून्य पछिको चौथो सबैभन्दा महत्त्वपूर्ण मानव आविष्कार इन्टरनेट नै हो भनेर मान्ने उज्ज्वलले यही इन्टरनेटको प्रविधिलाई पेशाको रुपमा अँगालेका छन् । उनको पहिलो कवितासङ्ग्रह “अलिकति तरङ्ग अति धेरै भाव” हालैमा प्रकाशित भएको छ । यही सङ्ग्रहका केही रचनालाई यम बराल, प्रविशा अधिकारी र अन्यले स्वर दिएका छन् । उनलाई uj2wal@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.