म त बडो बेफिक्री भएर
हिँड्दै थिएँ यो अट्टेरी सहरको बाटो…!
सोल्टी ज्यू…
कसो झुक्किएर हजुरसँग भेट भयो
यो सहरको ‘साकेला चोक’ मा ।
म त सिउरिएर नाकको टुप्पोमा घमण्डको सायमुन्द्री
पहिरिएर शरीरमा उत्तराधुनिक फेसन
र अर्धनग्न शरीरमा छर्किएर बजारे अत्तर
खै कहाँ पुग्नलाई हिँडेकी थिएँ ?
जब अचानक देखेँ भीडमा
तपाईँ बिल्कुल फरक भेषमा सजिएर
गाइरहनु भएको थियो चेतनाको ‘सै सैला’ गीत ।
चर्को आवाजमा बजाउँदै विद्रोहको ढाेल
बिहानी उदाउने घामभन्दा पनि चर्को हजुरको जोस
र त्यही जोसको लयमा विचारको ‘सिली’ टिप्दै
उठिरहेको चोमोलोङ्मा जस्तो हजुरको शिर
र सँगसँगै पछ्याइरहेका पुर्ख्यौली पदचापहरू !
लाग्यो कि…
कोप्पाले सुनाउनुभएको मिथकबाट जुरुक्कै उठेर
मेरै सामुन्ने मुस्कुराइरहेछ ‘हेछाकुप्पा’
र खसिरहेछ मेरै आँखा अघिल्तिर अनुहारको जस्केलोबाट
प्रश्नहरूको फिलुङ्गो!
कि… कसले भत्काइरहेछ हाम्रो चिहान, बस्ती र साकेलाथान
र विद्रोह गाउँदै आउनु परिरहेछ यो श्रापित सडकमा ?
कसले टाँसिरहेछ हाम्रो निधारमा साम्प्रदायिक टीका ?
वा कसले चुँडाउन खोजिरहेछ मेरो चौबन्दीको तुना र
बनाउन खोजिरहेछ मलाई यो सहरको बीच सडकमा बेसरम ?
सोल्टी ज्यू…
प्रथम पटक यो खप्परको अगेनोबाट
भर्भराउँदै उडिरह्यो पिरो खुर्सानी जस्तो प्रश्नहरूको झुँवालो।
जसरी यो सडकमा उडिरहन्थ्यो
सिमलको भुवा जस्तो भएर मेरो वायुपङ्खी मन ।
कसम सोल्टी ज्यू…!
हजुरलाई हेर्दा–हेर्दै थाहै पाइनँ
कतिखेर खस्यो मेरो नाकको टुप्पोबाट घमण्डको सायमुन्द्री ?
कतिखेर झर्यो मेरो शिरबाट स्वार्थी शिरफूल ?
थाहै पाइनँ
कतिबेला खुस्कियो मेरो शरीरबाट बेसरम लेहेङ्गा ?
वस्त्र भएर पनि कतिबेला नाङ्गिएँ तपाईँ उभिएको भीडबिचमा ?
सोल्टी ज्यू !
मान्छे घमण्डको पहाडबाट लडेपछि
लाग्दो रहेछ चोटको सट्टा सरम ।
शरीरको सट्टा छोप्नु पर्दो रहेछ अनुहार
यसै–यसै लाजले शिर ढल्दो रहेछ
त्यस दिनदेखि ढलेको मेरो शिर
‘नछुङ’ ले कचुर काटेर पनि उठेन
बरु बिग्रिरहन्छ उसले हेरेको जोखना ।
सोल्टी ज्यू !
अब हजुरलाई सम्झिऊँ भन्दा दिमाग मान्दैन
र बिर्सिऊँ भन्दा दिल मान्दैन ।
यसरी आफ्नै नजरको पहिरोबाट लडिझरेपछि त
सबैभन्दा खतरनाक हुँदो रहेछ
एकतर्फी प्रेम !

