साहित्यपोस्ट डट कम

कविता : एकतर्फी प्रेम

कविता : एकतर्फी प्रेम

म त बडो बेफिक्री भएर

हिँड्दै थिएँ यो अट्टेरी सहरको बाटो…!

सोल्टी ज्यू…

कसो झुक्किएर हजुरसँग भेट भयो

यो सहरको ‘साकेला चोक’ मा ।

म त सिउरिएर नाकको टुप्पोमा घमण्डको सायमुन्द्री

पहिरिएर शरीरमा उत्तराधुनिक फेसन

र अर्धनग्न शरीरमा छर्किएर बजारे अत्तर

खै कहाँ पुग्नलाई हिँडेकी थिएँ ?

जब अचानक देखेँ भीडमा

तपाईँ बिल्कुल फरक भेषमा सजिएर

गाइरहनु भएको थियो चेतनाको ‘सै सैला’ गीत ।

चर्को आवाजमा बजाउँदै विद्रोहको ढाेल

बिहानी उदाउने घामभन्दा पनि चर्को हजुरको जोस

र त्यही जोसको लयमा विचारको ‘सिली’ टिप्दै

उठिरहेको चोमोलोङ्मा जस्तो हजुरको शिर

र सँगसँगै पछ्याइरहेका पुर्ख्यौली पदचापहरू !

लाग्यो कि…

कोप्पाले सुनाउनुभएको मिथकबाट जुरुक्कै उठेर

मेरै सामुन्ने मुस्कुराइरहेछ ‘हेछाकुप्पा’

र खसिरहेछ मेरै आँखा अघिल्तिर अनुहारको जस्केलोबाट

प्रश्नहरूको फिलुङ्गो!

कि… कसले भत्काइरहेछ हाम्रो चिहान, बस्ती र साकेलाथान

र विद्रोह गाउँदै आउनु परिरहेछ यो श्रापित सडकमा ?

कसले टाँसिरहेछ हाम्रो निधारमा साम्प्रदायिक टीका ?

वा कसले चुँडाउन खोजिरहेछ मेरो चौबन्दीको तुना र

बनाउन खोजिरहेछ मलाई यो सहरको बीच सडकमा बेसरम ?

सोल्टी ज्यू…

प्रथम पटक यो खप्परको अगेनोबाट

भर्भराउँदै उडिरह्यो पिरो खुर्सानी जस्तो प्रश्नहरूको झुँवालो।

जसरी यो सडकमा उडिरहन्थ्यो

सिमलको भुवा जस्तो भएर मेरो वायुपङ्खी मन ।

कसम सोल्टी ज्यू…!

हजुरलाई हेर्दा–हेर्दै थाहै पाइनँ

कतिखेर खस्यो मेरो नाकको टुप्पोबाट घमण्डको सायमुन्द्री ?

कतिखेर झर्यो मेरो शिरबाट स्वार्थी शिरफूल ?

थाहै पाइनँ

कतिबेला खुस्कियो मेरो शरीरबाट बेसरम लेहेङ्गा ?

वस्त्र भएर पनि कतिबेला नाङ्गिएँ तपाईँ उभिएको भीडबिचमा ?

सोल्टी ज्यू !

मान्छे घमण्डको पहाडबाट लडेपछि

लाग्दो रहेछ चोटको सट्टा सरम ।

शरीरको सट्टा छोप्नु पर्दो रहेछ अनुहार

यसै–यसै लाजले शिर ढल्दो रहेछ

त्यस दिनदेखि ढलेको मेरो शिर

‘नछुङ’ ले कचुर काटेर पनि उठेन

बरु बिग्रिरहन्छ उसले हेरेको जोखना ।

सोल्टी ज्यू !

अब हजुरलाई सम्झिऊँ भन्दा दिमाग मान्दैन

र बिर्सिऊँ भन्दा दिल मान्दैन ।

यसरी आफ्नै नजरको पहिरोबाट लडिझरेपछि त

सबैभन्दा खतरनाक हुँदो रहेछ

एकतर्फी प्रेम !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.