साहित्यपोस्ट डट कम

कविता : एकजोडा आँखा

कविता : एकजोडा आँखा

वर्षौँदेखि उज्यालोको प्रतीक्षामा

शान्तिको खोजीमा

आफैँभित्र खुम्चिएर

आफैँभित्र निसासिएर

पर्खिरहेका छन्

आउला, आउला…

ल्याउला, ल्याउला…

एउटा छुट्टै संसार

एउटा छुट्टै उमङ्ग

एउटा छुट्टै खुसीको आशा बोकेका

ती एकजोडा आँखा ।

कठै ! आफ्नै अगाडि

आफैँलाई निहाल्न नसकी

मूर्छित छन् ।

छोरो बलात्कारी भएको खबर

कसरी पढ्नु ?

छोरी बलात्कृत भएको खबर

कसरी सुन्नु ?

बन्द बाकसभित्रका

बन्द सपना

कसरी निहाल्नु ?

साँघुरिँदै गएको सिमाना

मेटिँदै गएको अस्तित्व

रक्तिम आँसु

खुसी–शून्य हाँसो

बस्

एकजोडा आँखाले

वर्षौँदेखि निहालिरहेछन् ।

म खुसी छु

निर्धक्क छु

शान्त छु

आनन्दित छु

भन्ने दिन

आउला ?

अब त यी आँखालाई

यही दृश्य निहाल्न मन छ !

विश्वास छ तिमीमाथि

भरोसा छ तिमीमाथि ।

चौतारीका गफहरू

तिम्रै लागि

नयाँ सपना

तिम्रै लागि

नयाँ युग

तिम्रै लागि

एउटा छुट्टै उमङ्ग

एउटा छुट्टै इतिहास

तिम्रै लागि ।

कति धेरै आस

कति धेरै विश्वास

सबै तिम्रै लागि ।

तर

कुल्चियौ यो सपना भने

बिर्सियौ यो विश्वास भने

गर्यौ अन्तर्घात भने

कहाँ

तिमी र हामी

रहन्छौँ र ?

अचेल

एकजोडा आँखा

तिमीमाथिको भरोसामा

तिमीलाई नै निहाल्दै

बाँचिरहेका छन्

एउटा सुन्दर बिहानको

आशामा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.