वर्षौँदेखि उज्यालोको प्रतीक्षामा
शान्तिको खोजीमा
आफैँभित्र खुम्चिएर
आफैँभित्र निसासिएर
पर्खिरहेका छन्
आउला, आउला…
ल्याउला, ल्याउला…
एउटा छुट्टै संसार
एउटा छुट्टै उमङ्ग
एउटा छुट्टै खुसीको आशा बोकेका
ती एकजोडा आँखा ।
कठै ! आफ्नै अगाडि
आफैँलाई निहाल्न नसकी
मूर्छित छन् ।
छोरो बलात्कारी भएको खबर
कसरी पढ्नु ?
छोरी बलात्कृत भएको खबर
कसरी सुन्नु ?
बन्द बाकसभित्रका
बन्द सपना
कसरी निहाल्नु ?
साँघुरिँदै गएको सिमाना
मेटिँदै गएको अस्तित्व
रक्तिम आँसु
खुसी–शून्य हाँसो
बस्
एकजोडा आँखाले
वर्षौँदेखि निहालिरहेछन् ।
म खुसी छु
निर्धक्क छु
शान्त छु
आनन्दित छु
भन्ने दिन
आउला ?
अब त यी आँखालाई
यही दृश्य निहाल्न मन छ !
विश्वास छ तिमीमाथि
भरोसा छ तिमीमाथि ।
चौतारीका गफहरू
तिम्रै लागि
नयाँ सपना
तिम्रै लागि
नयाँ युग
तिम्रै लागि
एउटा छुट्टै उमङ्ग
एउटा छुट्टै इतिहास
तिम्रै लागि ।
कति धेरै आस
कति धेरै विश्वास
सबै तिम्रै लागि ।
तर
कुल्चियौ यो सपना भने
बिर्सियौ यो विश्वास भने
गर्यौ अन्तर्घात भने
कहाँ
तिमी र हामी
रहन्छौँ र ?
अचेल
एकजोडा आँखा
तिमीमाथिको भरोसामा
तिमीलाई नै निहाल्दै
बाँचिरहेका छन्
एउटा सुन्दर बिहानको
आशामा ।

