साहित्यपोस्ट डट कम

कविता : ए मान्छे !

कविता : ए मान्छे !

ए मान्छे !

तिम्रो इतिहास

तिम्रो सभ्यता

तिमीले उघारेको दैलो

तिमीले अँगालेको काख

तिमीले मेरो भनेको

त्यो सबथोकको आयु

यो फूलभन्दा कान्छा छन्

ए मान्छे !

तिम्रो अहम्

यति अग्लो किन !

तिमीले टेकेको भुइँ

तिमीले देखेको घाम-जून

तिमीले अनुभूत गर्ने यी हरचीज

तिमीभन्दा पाका हुन्

उनीहरूले कहिल्यै अहम् देखाएनन्

तिमी कुन दम्भ लिएर दौडिरहेछौ

नपुग्ने शिखरतिर !

ए मान्छे !

उन्नतिको चरम होडमा

आफ्नै विनाशको

यो दुर्बल लिस्नो उक्लिएर

आफैलाई भुल्दै गइरहेका

हे मान्छे हो !

हेर

प्रकृतिका हरेक घटना-उपघटनाले

दर्साइरहेछ प्रेमको सन्देश..!!

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.