ए मान्छे !
तिम्रो इतिहास
तिम्रो सभ्यता
तिमीले उघारेको दैलो
तिमीले अँगालेको काख
तिमीले मेरो भनेको
त्यो सबथोकको आयु
यो फूलभन्दा कान्छा छन्
ए मान्छे !
तिम्रो अहम्
यति अग्लो किन !
तिमीले टेकेको भुइँ
तिमीले देखेको घाम-जून
तिमीले अनुभूत गर्ने यी हरचीज
तिमीभन्दा पाका हुन्
उनीहरूले कहिल्यै अहम् देखाएनन्
तिमी कुन दम्भ लिएर दौडिरहेछौ
नपुग्ने शिखरतिर !
ए मान्छे !
उन्नतिको चरम होडमा
आफ्नै विनाशको
यो दुर्बल लिस्नो उक्लिएर
आफैलाई भुल्दै गइरहेका
हे मान्छे हो !
हेर
प्रकृतिका हरेक घटना-उपघटनाले
दर्साइरहेछ प्रेमको सन्देश..!!

