ए महाशय
तपाईँलाई भन्दैछु
हो, तपाईँले गल्ती गर्नुभएको छैन
म तपाईँलाई भन्दै छु
आजभोलि सबैलाई नाङ्गो मन पर्छ कि के हो ?
यी मानिलिनुहोस्, नाङ्गो पहाड
सुक्न लागेको नदी
जङ्गलविहीन पृथ्वी ।
मेरो एउटा अनुरोध छ
कृपया खेतहरू नबेच्नुहोला
गर्मीमा विश्राम लिनलाई अलिकति छहारी दिनुहोला
दलदलहरूलाई पुरेर
कङ्क्रिटको स्वर्ग नबनाउनुहोला ।
उफ, धेरै गर्मी छ
भूइँ चर्चरी फाटेको छ
भ्यागुताको बिहे गर्नलाई
भ्यागुताहरू विलुप्त भइसके।
एउटा खुला खेत खोज्दै हिँडिरहेको छु
साथीहरूसँग मन खोली खेल्नलाई
कमल फूलको पोखरी खोज्दै हिँडिरहेको छु
दुई आँखालाई शान्त पार्न
आँगन खोज्दै हिँडिरहेको छु
खुला आकाशको चन्द्रमा हेर्नलाई
साह्रै मन लागिरहेको छ
जुनकिरीसँग फेरि एक पटक
हिँड्नलाई ।
सबै कुरा हराए पनि
महाशय, हामीहरू जीवित रहनलाई
हरियालीहरू बाँच्नुपर्छ ।
——————————
मूल असमिया पर्या कविता: गीताञ्जली बरकटकी
अनुवाद: डा. देवेन सापकोटा

