ए लालीगुराँस !
तिम्रो ओठमा हिमालको चिसो गुलाबी छ
तिम्रो गालामा कुहिरोको चुम्बन
तर म तिमीलाई देख्न चाहन्छु
माटोको आलिङ्गनमा
जहाँ बिहानीको स्वागतमा ‘पराती’ गुञ्जन्छ
जहाँ न्यानो मायाको पछ्यौरीमा तिमीलाई बेर्छु
ए लालीगुराँस ! जाऊ, हिँड मिथिला ।
लालीगुराँस ! तिमीलाई
हिमाल र पहाडमा मात्र फुल्ने बानी छ
तर मिथिलामा फुल्नलाई तिमीले
खेतबारीलाई आफ्नो सखी बनाउनुपर्छ
र चुल्होको धुवाँबाट
गृहिणीको मायाको गन्ध चुस्नुपर्छ ।
मिथिलाको आँगनमा तिमीलाई
लोकगीतले अँगालोमा भर्नेछ।
मिथिला चित्रकलाले
तिम्रो रूप भित्ताहरूमा उतार्नेछ
छठको घाटबाट
मोहित गर्नेछ मातृत्वको सौरभ
जितिया, चौरचन र जुडशीतलमा
बुझ्नेछौ सन्तान हुनुको गौरव ।
गहबर, तुलसीचौरा, डिहबार-थानसँग
तिम्रो लागि सप्को फिँजाएर
आमाले आशीर्वाद माग्नेछिन् ।
लालीगुराँस !
तिमी मेरो प्रेम मात्र होइनौ
राष्ट्रको अभिमान पनि हौ ।
त्यसैले तिमीलाई भित्र्याउनेछु
चाडपर्वको बीचमा
जहाँ रङ होलीमा मात्र होइन
जीवनको रगतमा बग्ने गर्दछ ।
लालीगुराँस !
तिमीलाई मिथिलाको धरतीमा रोपेर
म एउटा फूल मात्र होइन
एकता रोप्नेछु ।
तिमी यहाँ फुल्नेछौ
माटोमा मात्र होइन
सिङ्गो देशको मुटुमा ।
तिमी सजिनेछौ सधैँ
प्रेम र पहिचानको शिरबन्दी बनेर ।

