कुपोषणले थला परेको
औषधिमूलो गर्न नसक्ने
रोगै रोगले च्यापेको
लुरे, सिकुटे, मरन्च्याँसे
अनि
सानो स्याउलाले छाप्रो भएको
घामपानी घरभित्रै छिर्ने
कहीँ कतै जाँदै नजाने
कलाकारले सुटिङ गर्न मन पराउने
धेरैलाई रमाइलो लाग्ने
यसैबारे
ए कवि ! मलाई एउटा कविता लेखिदेऊ ।
आमालाई छिटको सारी किन्न
मलाई दौरा–सुरुवाल ल्याउन
मुग्लान हिँडेको जेठोको
अत्तोपत्तो केही छैन
भोलि पर्सि आउँला भन्दाभन्दै
धेरै दिनरात बितिसके
न छोरो आउँछ, न खबर आउँछ
मभित्र आँधीबेहरी उर्लिएको छ
मलाई शान्त पारिदिन
ए कवि ! मलाई एउटा कविता लेखिदेऊ ।
डाँडाघरेले लुटेको घडेरी निखन्न
खाडी गएको माइलो उतै हरायो
धेरै वर्ष भयो नफर्किएको
आखिर बाकसभित्र
लास भएर फर्कियो
कसको के लाग्दो रहेछ र !
त्यसैले, रोइरहेको यो मन बहलाउन
ए कवि ! मलाई एउटा कविता लेखिदेऊ ।
“ए बा ! म तिमीलाई घर बनाइदिन्छु
जग्गा किनिदिन्छु
राम्रो लुगा ल्याइदिन्छु”
भन्ने कान्छो छोरो पनि
जङ्गल पसेको धेरै वर्ष भयो
अहँ, उसको पनि अत्तोपत्तो छैन
उसलाई बन्दुकले खान पनि सक्छ
बेपत्ता पारिएको पनि हुन सक्छ
विक्षिप्त अवस्थामा
कतै हात थापी ‘प्लिज प्लिज’ भनेर
रोईकराई रहेको पनि हुन सक्छ
ग्याँस चेम्बरमा मारिएको पनि हुन सक्छ
मलाई उसको सहारा चाहिएको छ
त्यसैले
ए कवि ! सक्छौ भने आवाज उठाइदेऊ
नसके मलाई एउटा कविता त लेखिदेऊ ।
म भुइँमान्छेलाई
चिल्ला सडकले के दिन्छ र ?
ठुला भवनहरूको पनि के काम हुन्छ र ?
मेलम्ची र तामाकोसी पो किन चाहियो र ?
मलाई त मेरै सन्तान पो चाहिएको छ
म आवाज नभएको भुइँमान्छेको
ए कवि ! मलाई एउटा कविता त लेखिदेऊ ।

