हे भानुभक्त नेपाल, किन देख्न छाड्याै ?
युगौँ सचेत कविता, किन लेख्न छाड्यौ ?
विकास छ कछुवाझैँ, भ्रष्टाचार खरायो
मान्छे प्रशस्त तर, मानवता हरायो ।
काली गजाधरहरू, सब यत्रतत्र
चलाख शासक छन्, छ रूखो चरित्र ।
पाटी तलाउ र कुवा, इतिहास भैगो
थिति रहेन र अब राष्ट्र, पछाडि गैगो ।
घाँसी नेता बन्यो आज, खूबै रमायो
पस्यो सहर उतै भव्य, महल ठड्यायो ।
बेचिए सब युवा यो, देश कसले हेर्ने ?
नेपाली हुन् सकल भुटानी, भनेर फेर्ने ।
भिजिट भिसा लगाई, धन पारे पोकै
कर्णालीभरि छन्, सब नेपाली भोकै ।
छैनन् कुवा पसलमा जल, बिक्छ खाऊ
हे भानु फर्क अब लौ, तुरुन्त आऊ ।
अड्डा अदालत भाग, आ–आफ्नै लाउँछन्
पाटी फरक फगत देश, लुटेर खान्छन् ।
धारा कुवा अब इनार, खनिन्न अर्को
भो खाली मुलुक विदेशिने छ, युवाको लर्को ।
हुने थियो रामराज्य, कसरी हनुमान आए ?
साँचो लिए जलहरी, आ–आफ्नो बनाए ।
ए भानुभक्त तिमी सालिकमै, रमायौ
टोपी उही छ दौरा धन, के कमायौ ?
ए भानुभक्त अब सालिकमै, बोल्नुपर्छ
को हुन् यी शत्रु देशका, अब खोल्नुपर्छ ।
हे भानु नेत्र खोल युगका, कविता हो लेख्ने
पुरा गरौँ यी सपना सबल, यो देश देख्ने ।


