साहित्यपोस्ट डट कम

कविता : दुर्व्यसनका विरुद्धमा

कविता : दुर्व्यसनका विरुद्धमा

लागेर कुलतमा
भागेर आफैँदेखि कहाँ पुग्छौ र ?
युवा !
हुँदैन कुनै समस्या समाधान
गरेर लागूपदार्थ सेवन
भो नगर दोमन ।
क्षणिक लतमा फसेर
बसेर साथी भनिएका, बनिएकाहरूसँग
जीवन बर्बाद नगर ।

तनाव भुल्ने बहानामा
झुल्न हुँदैन नसामा
सिर्जनाका अनेक आयाम छन्
मन लगाऊ त्यसैमा र सजाऊ जिन्दगीको रङ्गमञ्च ।
आउने छैन पुनः यो गुलाबी उमेर
मात्र छुटाउने छ यसले
असल मित्रता, आफन्त
बाआमाका सुन्दर सपना
तिम्रो आफ्नै लक्ष्य हराउने छ
कुहिरोको काग बन्नेछौ
त्यतिबेला एक्लै हुनुको
पश्चात्तापले तड्पिँदै रुनुको अर्थ रहँदैन ।

कमजोर तन, मन लिएर कहाँ सकिन्छ ?
दूर सफर गर्न जिन्दगीको ।
गाह्रो पर्नेछ दुनियाँको
छिछिदुर्दुर सहन
न अर्थ रहन्छ
न कोही सहन्छ ?
समय नदीजस्तै बहन्छ ।

भो, छाडिदेऊ कुलत
नभाग समस्यासँग डराएर
आऊ एक भएर लागौँ सिर्जनामा
यो धर्ती सिँगार्नु तिम्रो पनि कर्तव्य होइन र ?

क्रोध, ईर्ष्या र द्वेषले
सक्छ आफैँलाई
नलगाऊ त्यता मन
नफाल व्यर्थ धन,
जगाएर पन, फुलाऊ जीवन ।
कहाँ छ हार ?
कि जितिन्छ कि सिकिन्छ
भो यसै खेर जान नदेऊ
सार्थक पार्ने प्रण गर जिन्दगी ।

कमजोर, खत्तम भन्नेहरूलाई
गरेर देखाइदेऊ उद्यम
अल्झेर वादविवादमा खेर नफाल समय
यो सिर्जनाको याम हो ।
आवाज बुलन्द पारौँ
बाँचौँ र बचाऔँ
विरुद्धमा लागौँ लागूपदार्थ दुर्व्यसनको ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.