साहित्यपोस्ट डट कम

कविता : दुईवटा वन

कविता : दुईवटा वन

दुईवटा वन

एउटा छाटिँदै गएको साना-ठूला रुखहरूको वन

अर्को, दिनदिनै घना हुँदै गएको मानव वन ।

वास्तवमा वन त एउटै थियो

जैव-विविधताको अनुपम शोभाले

भरिएको थियो वनको छाती

बोट-बिरुवाहरूमा चराका चिरबिर

धारा-खोल्सा-झरनाहरूमा सुमधुर झङ्कार

नदी-तालहरूमा रुपौला-सुनौला माछाका हलचल ।

समयको कुटिल गतिमा

बिस्तारै खुम्चिँदै गयो पहिलो चाहिँ वन

विस्तारित हुँदै गयो दोस्रो खाले वन

ढुङ्गा, बालुवा, इँटाले बनेको

त्यो कङ्क्रिटको वन

मानव वन ।

निर्माण हुन्छन् गगनचुम्बी अट्टालिकाहरू

मानिसका विलासी चेतनाका साक्षी

धुवाँ र धूलोले ढाकिएको विपन्न चौदिश ।

सास फेर्न नसक्ने शङ्कामा त्रसित मानव जीवन

चारैतिर एउटै अनुत्तरित प्रश्न

को हो जिम्मेवार ?

जिम्मेवार को हो ?

टाढा-टाढा बजिरहेछ मृत्यु-घण्टा ।

मूल असमिया: हेमप्रभा मरान

अनुवाद: डा. देवेन सापकोटा

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.