दुईवटा वन
एउटा छाटिँदै गएको साना-ठूला रुखहरूको वन
अर्को, दिनदिनै घना हुँदै गएको मानव वन ।
वास्तवमा वन त एउटै थियो
जैव-विविधताको अनुपम शोभाले
भरिएको थियो वनको छाती
बोट-बिरुवाहरूमा चराका चिरबिर
धारा-खोल्सा-झरनाहरूमा सुमधुर झङ्कार
नदी-तालहरूमा रुपौला-सुनौला माछाका हलचल ।
समयको कुटिल गतिमा
बिस्तारै खुम्चिँदै गयो पहिलो चाहिँ वन
विस्तारित हुँदै गयो दोस्रो खाले वन
ढुङ्गा, बालुवा, इँटाले बनेको
त्यो कङ्क्रिटको वन
मानव वन ।
निर्माण हुन्छन् गगनचुम्बी अट्टालिकाहरू
मानिसका विलासी चेतनाका साक्षी
धुवाँ र धूलोले ढाकिएको विपन्न चौदिश ।
सास फेर्न नसक्ने शङ्कामा त्रसित मानव जीवन
चारैतिर एउटै अनुत्तरित प्रश्न
को हो जिम्मेवार ?
जिम्मेवार को हो ?
टाढा-टाढा बजिरहेछ मृत्यु-घण्टा ।
मूल असमिया: हेमप्रभा मरान
अनुवाद: डा. देवेन सापकोटा

