मुखमा मधुर मुस्कान
सर्पको दाँत लुकाई
भित्रैमा विषको भाँडो
बाहिर सुनको आवरण सजाई।
धुवाँको महल उभ्याएर
सत्यलाई ढाक्छ
काँचो सुनको चमकमा
झुटलाई पाक्छ।
छायामा हराएका
उज्यालो खोज्दै भौँतारिन्छन्
आफैँलाई देवता ठानेर
अरूलाई रसातलमा धकेल्छ ।
सधैँ केन्द्रमा “म नै” राख्छ
अरूले केही जान्दैनन् भन्ने ठान्छ।
के भयो
के गरे भनी चियोचर्चो गरिराख्छ
आफू बन्न दुनियाँ बोक्न तयार हुन्छ।
सहयोगीलाई काँडाको फूल दिएर
श्रेय आफैँ टिप्छ, फेरि काम आयो भने
उसैलाई फेरि मसार्न पुग्छ ।
समाजको ऐना फुटाएर
धुवाँको पर्दा ओढ्छ
दुई चरित्रे मान्छे
ढोंगको रङ्गमञ्चमा नाच्छ ।
आफ्नो प्रचार गर्छ जबर्जस्त
हल्ला र हुलमुलमा
साँचोभन्दा झुटै बेचेर
नाम टाँस्छ गडबुलमा।
कहिले यता
कहिले उता सत्य मोड्दै हिँड्छ
धुवाँको आवरण ओढी
यताउता भरोसा तोड्दै हिँड्छ ।
बोलाइमा अस्थिरता
भित्र स्वार्थको आँधी चल्छ
तर पनि आफूलाई ठुलो ठानी
ढोंगको सिंहासन चढ्छ।
काँचो सुनको आवरणभित्र
लोभको ज्वाला बल्छ
धुवाँको पर्दा ओढेर
सत्यलाई सधैँ छल्छ ।
सर्पको मुस्कानमा
काँडाको फूल झल्काउँछ
आफ्नो स्वार्थको बाटोमा
अरूलाई ढुकेर हिँडाउँछ।
समाजको आकाशमा
धुवाँको बादल छर्छ
दुई चरित्रे मान्छे
ढोंगको नाटक निरन्तर गर्छ ।
यस्ता रूप चिनेर
हामी सचेत रहनुपर्छ
नत्र सत्यको उज्यालो
धुवाँमै हराएर मर्छ ।

