ऊ, हेर्नुहोस् ! ती दूधले नुहाएका मान्छेहरू
कति शुद्ध, कति सरिफ, कति इमानी देखिन्छन् !
दूधको स्पर्शले तिनलाई दोषमुक्त बनाएको छ
तिनका पापहरू पानीजस्तै बगेर गएका छन् ।
तिनका दागहरू पखालिएका छन्
र ती दागहरू अब कुकृत्यका बिम्ब होइनन्
बरु कलात्मक ट्याटु बनेका छन्
जसले उनीहरूलाई समयानुकूल, अझ आकर्षक बनाएका छन् ।
ती दागहरू जीवनभर आर्जन गरिएको सम्पत्ति हुन्
जसको राप र तापले उनीहरू दुनियाँ हाँक्न सक्छन् ।
तिनैले उनीहरूलाई नयाँ जीवन दिएका छन्
समाजमा उदाहरणीय बनाएका छन्
सय किलोका मालाका लागि योग्य
मान, सम्मान र पुरस्कारका लागि उपयुक्त ।
दुर्गन्धित दागहरू अब पवित्र भएका छन्
तिनको विष दूधले झारिदिएको छ ।
अब ती सरुवा रोगजस्तो बेलगाम जताततै फैलिने छैनन्
किनकि निधारमा शुद्धताको लाल छाप लागिसकेको छ ।
दूधको स्नानपछि तिनीहरू झन् सुगन्धित भएका छन्
उनको “वासना” नै अब सुगन्ध बनेर
समाजका कुनाकाप्चासम्म फैलिएको छ ।
उनको प्रभावले समस्याका बाकसहरूमा कायापलट भएको छ
र ती चटके बाकसहरूबाट अब खुसी मात्र फुसफुसाउनेछन् ।
दुनियाँबाट दुर्गन्ध भन्ने कुरा सधैँका लागि विनाश भइसकेको छ
किनकि दूधले नुहाएका मान्छेहरू अब आशा बाँड्दै हिँडिरहेका छन् ।
उनीहरू फेरि एकपटक भरपर्दा भएका छन् ।
आउनुहोस्— अब फेरि एकपटक उनको लगौटी समातौँ
जयजयकार गरौँ, विजय उत्सव मनाऔँ ।
मौका यही हो, चौका हान्न पछि नपरौँ ।
उनको विश्वास गरौँ
किनकि उनीहरू फेरिएका छन्
किनकि उनीहरूले दूधले नुहाएका छन् ।

