साहित्यपोस्ट डट कम

कविता : दूधले नुहाएका मानिसहरू

कविता : दूधले नुहाएका मानिसहरू

ऊ, हेर्नुहोस् ! ती दूधले नुहाएका मान्छेहरू

कति शुद्ध, कति सरिफ, कति इमानी देखिन्छन् !

दूधको स्पर्शले तिनलाई दोषमुक्त बनाएको छ

तिनका पापहरू पानीजस्तै बगेर गएका छन् ।

तिनका दागहरू पखालिएका छन्

र ती दागहरू अब कुकृत्यका बिम्ब होइनन्

बरु कलात्मक ट्याटु बनेका छन्

जसले उनीहरूलाई समयानुकूल, अझ आकर्षक बनाएका छन् ।

ती दागहरू जीवनभर आर्जन गरिएको सम्पत्ति हुन्

जसको राप र तापले उनीहरू दुनियाँ हाँक्न सक्छन् ।

तिनैले उनीहरूलाई नयाँ जीवन दिएका छन्

समाजमा उदाहरणीय बनाएका छन्

सय किलोका मालाका लागि योग्य

मान, सम्मान र पुरस्कारका लागि उपयुक्त ।

दुर्गन्धित दागहरू अब पवित्र भएका छन्

तिनको विष दूधले झारिदिएको छ ।

अब ती सरुवा रोगजस्तो बेलगाम जताततै फैलिने छैनन्

किनकि निधारमा शुद्धताको लाल छाप लागिसकेको छ ।

दूधको स्नानपछि तिनीहरू झन् सुगन्धित भएका छन्

उनको “वासना” नै अब सुगन्ध बनेर

समाजका कुनाकाप्चासम्म फैलिएको छ ।

उनको प्रभावले समस्याका बाकसहरूमा कायापलट भएको छ

र ती चटके बाकसहरूबाट अब खुसी मात्र फुसफुसाउनेछन् ।

दुनियाँबाट दुर्गन्ध भन्ने कुरा सधैँका लागि विनाश भइसकेको छ

किनकि दूधले नुहाएका मान्छेहरू अब आशा बाँड्दै हिँडिरहेका छन् ।

उनीहरू फेरि एकपटक भरपर्दा भएका छन् ।

आउनुहोस्— अब फेरि एकपटक उनको लगौटी समातौँ

जयजयकार गरौँ, विजय उत्सव मनाऔँ ।

मौका यही हो, चौका हान्न पछि नपरौँ ।

उनको विश्वास गरौँ

किनकि उनीहरू फेरिएका छन्

किनकि उनीहरूले दूधले नुहाएका छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.