(लघुकविता)
चुनाव मात्र होहल्ला र नाचगान होइन
आ-आफ्नो शक्ति र साथ दिने कुरा हो ।
जसको शिरमाथि देशको भरोसा छ
उसैलाई विश्वास र काँध दिने कुरा हो ।
चुनाव लहडभन्दा बढी जिम्मेवारी हो
देश डुब्नु र तैरिनुको हिसाबदेखि
विकास र निकासको हिस्सेदारी हो ।
दुःखको साथ भन्नुपर्छ देश हरक्षेत्रमा
नैतिक धरातलबाट खस्किएको छ ।
चिनेर पनि नचिनेझैँ गर्ने बेला छैन
प्रत्येकलाई दूध र पानीको कसीमा राखेर
पत्याउन र लत्याउन सक्नुपर्छ ।
चुनाव हो कोही प्रलोभनको बलमा
बलात्कारको पाप लुकाएर आउन सक्छ
कालोधनको राप लुकाएर आउन सक्छ
विधवाको श्राप लुकाएर आउन सक्छ
र टुहुराको प्रलाप लुकाएर आउन सक्छ !
नभुलौँ चुनाव प्रहार पनि हो
परिवर्तन पनि हो ।

