म जन्मेँ, हुर्केँ यही धरतीमा, किशोर वय छ
अस्तित्व धूमिल हुन्छ कि आफ्नै मनमा भय छ ।
नजाऊँ विदेश, स्वदेशमै मरूँ भन्दछ एक मनले
पुर्खाको नासो जोगाउनुपर्छ नभागी जतनले ।
निराशा देख्छु सर्वत्र, राम्रो अवसर कहीँ छैन
गफ मात्र खोक्रा, इमानदार भई काम गर्ने कोही छैन ।
मनमा विष बोकेर मानिस देखिन्छन् हिँडेका
राष्ट्रको होइन, आ-आफ्ना स्वार्थ मिलाउन भिडेका ।
उद्योग बन्द गरेर देश बनाउँछु भन्दछन्
युवाको बिक्री गर्नेका ढोका मनका बन्द छन् ।
कोही सधैँ देशको ढुकुटीभित्र आहाल खेल्दछन्
सिटामोल नपाई कैयौँले ज्यान अकालमा फाल्दछन् ।
यस्तोमा ‘पढ, असल बन’ भन्दछन् मामाले
यही कुरा गर्छन् शिक्षकहरू, बाबा र आमाले।
मभन्दा अग्रज दाइदिदीहरू विदेशी सहरमा
भौतारिँदै छन् अन्जान ठाउँमा सुखको रहरमा।
समुद्री किनार, चिल्ला सडकमा मुस्काउँदै तिनले
पोस्ट गरेका फोटा हेरेर यहाँ लोभिन्छु मनले ।
दाइदिदीले साँच्चिकै खुसी भेटेकै हुन् कि त ?
लोभिन्छु त्यतै, जाऊँ कि भन्ने लाग्दछ मलाई त ।
बा-आमामाथि सामान्य काममा निर्भर छु म यहाँ
डर, शङ्का लाग्छ— स्वनिर्भर बन्न सकुँला के त्यहाँ ?
बुझ्दछु आमाबुबाको मुस्कान अडेको ममाथि
आशाको त्यान्द्रो, खुसीको मुहान, उनको मै साथी ।
जीवनमा उनको सुखको बिहान ल्याइदिने चाह छ
खुसीको साँचो किन्नलाई खुसी छोड्दै छु थाहा छ ।
जन्मभूमि र जननी छाडी पराईका माझमा
हर्ष या विस्मात्, कुन क्षण हो यो दोधारमा आज म !

