साहित्यपोस्ट डट कम

कविता : दोधार

कविता : दोधार

म जन्मेँ, हुर्केँ यही धरतीमा, किशोर वय छ

अस्तित्व धूमिल हुन्छ कि आफ्नै मनमा भय छ ।

नजाऊँ विदेश, स्वदेशमै मरूँ भन्दछ एक मनले

पुर्खाको नासो जोगाउनुपर्छ नभागी जतनले ।

निराशा देख्छु सर्वत्र, राम्रो अवसर कहीँ छैन

गफ मात्र खोक्रा, इमानदार भई काम गर्ने कोही छैन ।

मनमा विष बोकेर मानिस देखिन्छन् हिँडेका

राष्ट्रको होइन, आ-आफ्ना स्वार्थ मिलाउन भिडेका ।

उद्योग बन्द गरेर देश बनाउँछु भन्दछन्

युवाको बिक्री गर्नेका ढोका मनका बन्द छन् ।

कोही सधैँ देशको ढुकुटीभित्र आहाल खेल्दछन्

सिटामोल नपाई कैयौँले ज्यान अकालमा फाल्दछन् ।

यस्तोमा ‘पढ, असल बन’ भन्दछन् मामाले

यही कुरा गर्छन् शिक्षकहरू, बाबा र आमाले।

मभन्दा अग्रज दाइदिदीहरू विदेशी सहरमा

भौतारिँदै छन् अन्जान ठाउँमा सुखको रहरमा।

समुद्री किनार, चिल्ला सडकमा मुस्काउँदै तिनले

पोस्ट गरेका फोटा हेरेर यहाँ लोभिन्छु मनले ।

दाइदिदीले साँच्चिकै खुसी भेटेकै हुन् कि त ?

लोभिन्छु त्यतै, जाऊँ कि भन्ने लाग्दछ मलाई त ।

बा-आमामाथि सामान्य काममा निर्भर छु म यहाँ

डर, शङ्का लाग्छ— स्वनिर्भर बन्न सकुँला के त्यहाँ ?

बुझ्दछु आमाबुबाको मुस्कान अडेको ममाथि

आशाको त्यान्द्रो, खुसीको मुहान, उनको मै साथी ।

जीवनमा उनको सुखको बिहान ल्याइदिने चाह छ

खुसीको साँचो किन्नलाई खुसी छोड्दै छु थाहा छ ।

जन्मभूमि र जननी छाडी पराईका माझमा

हर्ष या विस्मात्, कुन क्षण हो यो दोधारमा आज म !

ट्याग: रमा के.सी.
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.