साहित्यपोस्ट डट कम

कविता : डाक्टरले भनेका छन् देशलाई

कविता : डाक्टरले भनेका छन् देशलाई

१ डाक्टरले भनेका छन् देशलाई

दृश्य १

“लामो श्वास फेर्नुस् त

अक्सिजन कम भएको छ

वाचा, भ्रष्टाचार र भाषणको धुलोले ।”

घ्यार्र–घ्यार्र गर्दै

लौरो भित्तामा अड्याएर

खुइय… सुइय… सुस्केरा काट्दै

डाक्टरको च्याम्बरमा टुसुक्क बसेपछि

देशले सास फेर्न खोज्दा

माइकले नाक छोपिदिन्छ

झण्डाले घाँटी कस्छ

कानमा गोप्य बैठकका निर्णयहरू

पत्रिकाले ‘कपिपेस्ट’ गरेको समाचारजस्तो

पुनः सुनाइन्छन् दृश्यभित्रको अदृश्यताबाट ।

यसरी

नदीमा बगाइदिएको स्वस्थानीको प्रसादजस्तो

ढलपल–ढलपल बग्दै जान्छ

आशाको दियो बोकेको, प्वाल परेको टपरी ।

दृश्य २

स्वरमा स्वर मिसाउन खोज्दा

अहम्— ख्वाक्क !

घुटुक्क निलिदिन्छ ऊ—

कफसहितको खकार ।

स्वाँ–स्वाँलाई एकछिन थाती राखेर भन्छ

“डाक्टरसा’ब, ‘जुका’ पन्छाइ–पन्छाई आएको हुँ

पाल्तु कुकुरलाई पिसाब गराई–गराई

आफ्नो सीमाको धाक लाउनेहरूबाट बचेर आएको हुँ

पद र प्रशंसाको भोकले हाहाकार ‘किर्ना’ र ‘उपियाँहरू’

पन्छाउने उपाय बताइदिनुस् न !”

२. प्रविधिमा पोख्त कवि

त्यो कवि उही हो

जो दिन बिताएर प्रज्ञामा “के कविता सुन्नु” भन्छ

“भिडियो गरौँ, युट्युबमा सुनौँ” भन्छ

“हातहातमा मोबाइल छ, त्यसकै सेयर गरौँ” भन्छ ।

पोहोर–परारकै कविता खोजखाज गरेर

“जुठो माइकमा कति थुक्छौ” भन्छ ।

सानो हुल बनाएर ठुलो स्वरमा चर्किन्छ

छोराले खोलिदिएको फेसबुकको पासवर्ड डायरीमा टिप्दै

“लाइभ गरौँ कवि हो, जमाना कहाँ पुगिसक्यो” भन्छ ।

त्यो कवि उही हो

छोरीलाई होमवर्क दिएर

गुगलले भेट्टाएको कविता

गुगल ट्रान्सलेटमा अनुवाद गराउँछ

गुगल किपमा टाइप गराउँछ

गुगल ड्राइभबाट सेयर गराउँछ ।

च्याट जिपिजीमा विम्ब खोज्दै

उही कवि फेरि प्रज्ञामा आगो ओकल्छ

“एआईले त सिर्जना मार्छ !”

कविहरूमाथिको विश्वास त

उहिले उडिसकेको हो मलाई ।

कवि मात्रै होइन

बिना फ्वाँकका झ्वाँक रचनालाई

“वा! क्या कविता” भनिदिने

पाठकहरूसँगको विश्वास पनि उडिसकेको छ ।

धन्यवाद ती पाठकहरूलाई

जो कविले माइक छोडिसकेपछि मात्रै ताली बजाउँछन्।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.