साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : डिजिटल पटकथा

कविता : डिजिटल पटकथा

कसले कालाजादु गर्‍यो मानिसलाई ?
हातमा टाउको बोकेर
कुन प्रलयको तपस्यामा छन् मानिसहरू ?
कसले लुट्यो बोली, केले थुत्यो जिब्रो ?
एउटै घरमा सन्नाटा ओढेर निर्वासित छन् हरेक मानिसहरू
आ–आफ्नै निर्जन टापुहरूमा
कता हराए विस्तारै भाषाहरू
आँगनका भँगेराहरूझैँ ?
इमोजीका सङ्केतहरूमा किन औपचारिक छ मानिस ?

कसले खेलिरहेको छ मानिसको दिमागमा चेस ?
किन अस्थिरता स्थिर छ ?
कहाँ छ रिमोट कन्ट्रोल ?
कसले बदलिरहेको छ बारम्बार
मानिसका मनमा अनेक च्यानलहरू
फटाफट ?

आफैँले रोजेका बाटाहरू किन भ्रमात्मक बन्दै गएका छन् ?
किन यति धेरै भोका छन् मानिसका आँखाहरू ?
कसको हातमा छ जिपिएस ? को हो दृष्टिकोणहरूको एडमिन ?

निराशाहरू उमार्ने कस्ता क्रूर लक्ष्यहरू पालेर
मानिस किन निस्कन सक्दैन
आफ्नै रहरहरूको चक्रव्यूहबाट ?
खै, कसले परिवर्तन गरिरहेको छ उत्साहको पासवर्ड हरेक दिन ?

शङ्काहरूको कैदमा कसरी प्रेम हुर्काइरहेको छ मानिस ?
विश्वासहरू किन ह्याक हुन्छन् पटक–पटक ?
कसले उत्पादन गरिरहेको छ अविश्वासका नयाँ–नयाँ भाइरसहरू ?

कोसँग होला सपनाहरूको डेटा सेन्टर ?
किन अनुत्तरित छन् अनेक प्रश्नहरू ?
कुन एल्गोरिदममा अल्झिइरहेको छ मानिस ?
भित्र–भित्रै एक्लिएर किन भाइरल हुन खोजिरहेको छ ?
कसले चोरी गरिरहेको छ आँसुहरू, संवेदनाहरू

चुपचाप अदृश्य क्यूआरहरूबाट ?
के खोतलिरहेको छ मानिसले लगातार
बुढीऔँलाले उमेर घोटेर
डिजिटल ठट्टाहरूमा लटपटिएर ?

सुन्दर मानिसहरूबाट मानिस खोसेर
कसले लेखिरहेछ यो डिजिटल महामारीको पटकथा ?

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.