(लघुकविता)
हरेक रात – विक्षिप्त सपुतहरूको
असङ्ख्य सपनाहरूमा
चिहानको माटो र चिताको खरानी
एकसाथ चिच्याइरहेका हुन्छन् ।
जुन चिच्याहटको गुञ्जनमा
अन्धकार रात छिचोलेर फक्रिएका
नयाँ फूलहरूको सुवास
कहाँसम्म सुवासित भयो भन्ने जिज्ञासा छ
र हृदयतः निस्किएका वाचा-कसमहरूमा
कतिसम्म ऊर्जा थपियो भन्ने प्रश्न पनि छ ।
लाग्छ – त्यही प्रश्नले थिचिएका
त्यही चिहान र चिताका वारिसहरूको आँखामा
क्रमशः चिहानको माटो चल्न थालेको छ
आवाजमा चिताको खरानी बोल्न थालेको छ
र सडकमा छरिएको किताब उठाउने हातहरूमा
रगतको टाटो पोल्न थालेको छ ।
मानौँ यो आवाज, प्रश्न र गति नै
मुलुकको भूत पनि हो, भविष्य पनि हो
र वर्तमान पनि हो ।

