बद्री दाहाल ‘अनन्त’
मैले भनेको थिएँ नि
आँसुको भेलले
ढुङ्गाको मुटु पग्लिँदैन भनेर !
हो,
ढुङ्गो ढुङ्गो नै हो, सबलाई थाहा छ
जो सारो हुन्छ
अनि आँसु आँसु नै हो
जो नरम हुन्छ
कहाँ आँसुले ढुङ्गालाई पगाल्न सक्छ !
मलाई थाहा छ
जिम धाउँदा धाउँदा मसल सारो हुन्छ
अनि, क्रूरता अभ्यास गर्दागर्दै
मुटु पनि त सारो होला नि !
हैन भने, मान्छेको मन यति सारो किन हुन्छ हँ ?
जसले कोपिलासम्म दर्फर्याउने दुस्साहस गर्छ ।
हो, भन्नेहरूले यसो पनि भन्लान्
‘काँडा छ र त फूलको सौन्दर्य छ’
अनि, ‘ढुङ्गा छ र त माटोको सौन्दर्य छ’
ठिक्क छ, त्यसो भए मेरो पनि एउटा प्रश्न छ ढुङ्गामाथि
तिमी ढुङ्गाहरू, माटोसँग नबसेर
मान्छेको मनभित्र चाहिँ किन छिर्यौ हँ ?
माटोसँग बस्दा पो तिम्रो सौन्दर्य छ !
मलाई थाहा यी ढुङ्गाहरू
यस्तै बसाइँ सरिरहन्छन्
कहिले पहिरोको नाममा
कहिले गहिरोको नाममा
यी दाइँ गरिरहन्छन् खुलेको मौसममा !
हरे ! देखिँदा नरम मासु देखिने यो मुटु
कतिसम्म सारो हुँदो रहेछ हँ ?
हैन भने
पूजा शाह, निर्मला पन्त, अङ्गिरा पासी, माया विक,
र, इनिशा विकहरूको
चिचिला आत्माले घोचिरहँदा पनि
अलिकति रगत नबग्ने, नदुख्ने
यो मुटु के मुटु रहेछ र !
भो, यो मुटु होइन
ढुङ्गो हो ।

