साहित्यपोस्ट डट कम

कविता : ढुङ्गाको मुटु

कविता : ढुङ्गाको मुटु

बद्री दाहाल ‘अनन्त’

मैले भनेको थिएँ नि

आँसुको भेलले

ढुङ्गाको मुटु पग्लिँदैन भनेर !

हो,

ढुङ्गो ढुङ्गो नै हो, सबलाई थाहा छ

जो सारो हुन्छ

अनि आँसु आँसु नै हो

जो नरम हुन्छ

कहाँ आँसुले ढुङ्गालाई पगाल्न सक्छ !

मलाई थाहा छ

जिम धाउँदा धाउँदा मसल सारो हुन्छ

अनि, क्रूरता अभ्यास गर्दागर्दै

मुटु पनि त सारो होला नि !

हैन भने, मान्छेको मन यति सारो किन हुन्छ हँ ?

जसले कोपिलासम्म दर्फर्‍याउने दुस्साहस गर्छ ।

हो, भन्नेहरूले यसो पनि भन्लान्

‘काँडा छ र त फूलको सौन्दर्य छ’

अनि, ‘ढुङ्गा छ र त माटोको सौन्दर्य छ’

ठिक्क छ, त्यसो भए मेरो पनि एउटा प्रश्न छ ढुङ्गामाथि

तिमी ढुङ्गाहरू, माटोसँग नबसेर

मान्छेको मनभित्र चाहिँ किन छिर्यौ हँ ?

माटोसँग बस्दा पो तिम्रो सौन्दर्य छ !

मलाई थाहा यी ढुङ्गाहरू

यस्तै बसाइँ सरिरहन्छन्

कहिले पहिरोको नाममा

कहिले गहिरोको नाममा

यी दाइँ गरिरहन्छन् खुलेको मौसममा !

हरे ! देखिँदा नरम मासु देखिने यो मुटु

कतिसम्म सारो हुँदो रहेछ हँ ?

हैन भने

पूजा शाह, निर्मला पन्त, अङ्गिरा पासी, माया विक,

र, इनिशा विकहरूको

चिचिला आत्माले घोचिरहँदा पनि

अलिकति रगत नबग्ने, नदुख्ने

यो मुटु के मुटु रहेछ र !

भो, यो मुटु होइन

ढुङ्गो हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.