साहित्यपोस्ट डट कम

कविता : ढुङ्गाहरू

कविता : ढुङ्गाहरू

नानीबाबुहरू !

तिमीहरूले बुझ्नुपर्छ

समय फेरिएको छ

हिजोसम्म

यत्रतत्र छरिएका

काला ढुङ्गाहरू

आज

एकाएक

देवता बनेर

मन्दिर छिरेका छन्

मान्छेहरू

आज उनै ढुङ्गाहरूलाई

देवता मानेर

फूल-अक्षता चढाउन

ढोका बाहिर लाइनमा छन्

जसरी

हिजो

पुराना ढुङ्गाहरूका अगाडि

लामबद्ध हुन्थे

मान्छेहरू ।

नानीबाबुहरू !

मन्दिरको भित्रपट्टि

ढुङ्गाहरू फेरिएका छन्

फेरिएका ढुङ्गाहरूसँगै

ढोका बाहिर

भक्तहरू फेरिएका छन्

भक्तहरूका तरिका फेरिएका छन्

तर

फेरिएका छैनन्,

थोरै भेटी चढाएर

अकुत वरदान कुम्ल्याउने

भक्तहरूका चाहना ।

जहिलेदेखि

यी खोटा ढुङ्गाहरूलाई

मान्छेहरूले भगवान् बनाए

हो

त्यसै बेलादेखि

झन् गाढा भएको छ रात

जन्मिन सकेको छैन

हाम्रो मायालु बिहान ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.