साहित्यपोस्ट डट कम

कविता : ढुक्क हुनुहोस् !

कविता : ढुक्क हुनुहोस् !

बा

ढुक्क हुनुहोस्

तपाईँको छोरा महँगो स्वाभिमान

सस्तो श्रमबजारमा

कौडीको भाउमा पौरख बेचेर भए पनि

पठाएको छु

धेरैथोर रेमिट्यान्स

ढुक्कसँग खानुहोस् किनेर

पञ्जाबको चामल र बिहारको आलु–प्याज ।

बिर्सिदिनु पिरालो

आफ्नो खेतबारी बाँझो भएको कुरा ।

आमा

परदेशी छोराछोरी सम्झेर नरुनुहोस् ।

दाइ काठको बाकस बनेर फर्के पनि

भाइ जिउँदै छ ।

पुर्‍याउँछु तिम्रो रहर

बुट्टेदार बनारसी साडी किनी पठाएर अरबबाट

सुर्ता नलिनु सम्झेर

हेटौँडाको कपडा कारखाना

बन्द भएको कुरा सम्झेर ।

ढुक्क हुनुहोस् तन्नेरी सरकार !

तिम्रो अभिमानको निम्ति

हामी आफ्नो स्वाभिमान

बिरानो मुलुकको भुँडेवाल

साहु–साहुनीको चरणमा राखेर बन्धकी

सकेजतिको

आर्थिक सहयोग गरौँला !

ढुक्क हुनुहोस्

कुन्नि के के बासी हो ।

वर्षौँदेखि

हराभरा मनोहरा र बागमतीको सुगन्धले

मोहित हुनुभएका दाजुभाइ

होल्डिङ सेन्टर हुँदै

आफ्नै नाउँको लालपुर्जा

प्राप्त हुने सदिच्छा पूरा हुँदैछ ।

ढुक्क हुनुहोस् !

हुनेखाने घरका होइनन्

हुँदाखाने घरमा पैदा भएका

सुदूरका

कुपोषणग्रस्त नानी–बाबु हो

डीडीसीद्वारा उत्पादित

सञ्जालमा तैरिएको चिजको झकास फोटोले

हृष्टपुष्ट निरोगी बनाउँछ ।

ढुक्क हुनुहोस्

युवा अनि युवती हो

पासपोर्टको निम्ति मुकाम वा राजधानीमा पुगेर

भोकभोकै लाइनमा घण्टौँ बस्नु पर्दैन

अब तन्नेरी सरकारले

घर–घरमा सम्म

कुरियर गरेर पठाउँछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.