(पर्या–कविता)
परिचारिकाका
सफेद परिधान झैँ
धब्बा छैन
दाग छैन
कुनै अनुराग छैन
धर्तीका सेता फूलहरू
बेपर्वाह फुलिरहेका छन्
झुण्ड झुण्डमा
र सँगालिरहेका छन्
मानिसहरूका भित्री चाहना र इच्छाहरू ।
रङ्ग के हो र ?
चित्तको एउटा सूक्ष्म
बुझाईको अवरोह न हो ।
विभेदका नानाथरी परिभाषामा छिर्नु छैन
जीवनका उत्कर्ष भेट्नु
र ओर्लनुमा रङ्ग खोई ?
नघोलिए पनि भो
आखिर एउटा भुलुक्क आरोह न हो ।
यी फूलहरू
रनवनका गहिरा एकान्तमा
घाँसे मैदानका फाँटहरूमा
भीरका काखमा
हिमालका शीतल उकालीहरूमा
सृष्टिको मौन उत्सव मनाइरहेका छन् ।
कुनै बजारले
यिनको मूल्य तोकेको छैन
कुनै विज्ञापनले
यिनको सौन्दर्य बेचेको छैन ।
तैपनि यिनले
धर्तीलाई सबैभन्दा धनी बनाएका छन्
किनकि प्रकृतिको सम्पत्ति
कुनै तडकभडक होइन, सफेद भङ्गीमामा हुन्छ ।
यिनै धर्तीका सेता फूलहरू
हावासँग गीत गाउँछन्
मौरीहरूलाई मधुर निम्तो दिन्छन्
पुतलीका पखेटामा
रङ्गीन सपनाहरू कोर्छन् ।
चराहरूका बिहानलाई
सुगन्धले सजाउँछन्
र माटोको अनन्त मौनतामा
नयाँ जीवनका बीउहरू छरिदिन्छन् ।
फुल्नु उनीहरूको धर्म हो
फल्नु उनीहरूको कर्म हो
र झर्नु
सृष्टिको जीवन चक्रका लागि
एउटा पवित्र समर्पण हो ।
तर आज
मेसिनहरूको गर्जनमा
हरियाली उतर्सिएका छन्
नदीहरू आफ्ना निर्मल ऐना
गुमाउँदैछन्
आकाश धुवाँका कालो बादलले ढाकिँदैछ
र जलवायुका असन्तुलित सासहरूले
ऋतुहरूको ताल बिगार्दैछन् ।
माैन प्रतिरोध बनेर उभिएका
धर्तीका सेता फूलहरू
कराउँदैनन्
तर हरेक पटक फक्रँदै भन्छन्
“हे मानव !
तिमी पृथ्वीका स्वामी होइनौ
तिमी पनि यही जीवन–जालको
एउटा सानो धागो मात्र हौ ।”
अन्योन्याश्रित गाँसिएका
माटोको कण
पानीको थोपा
हावाको स्पर्श
घामको किरण
र फूलको मुस्कान
जब छुट्छ कुनै एकको साथ
अधुरो हुन्छ, जीवनको अनुपम सङ्गीत ।
धर्तीका सेता फूलहरू
हामीलाई सम्झाइरहेका छन्
सहअस्तित्वको पाठ
सन्तुलनको दर्शन
र जैविक विविधताको महत्त्व ।
बेकामे फूल भनेर
कुल्चिएर हिँड्छौ जबसम्म
चिलाउनेका कोमल फूलहरू
पारिजातका फूलहरू अनि बेली
र चमेली फूलहरू
चुवाका फूलहरू ।
धर्तीका सेता फूलहरू त
फूल मात्र होइनन्
यी त पृथ्वीका कोमल हस्ताक्षर हुन्
जीवनका शान्त दूत हुन्
हरियालीका सेता दीप हुन् ।

