साहित्यपोस्ट डट कम

कविता : धर्ती जत्रो बन

कविता : धर्ती जत्रो बन

सुन ए मनुवा !

पुर्खाहरूले ढुङ्गामा कुँदेर भनेका वचन छन्

हावाले बोक्दै ल्याएको

मुन्धुमको पुरानो स्वर बोल्छन् ।

आकाशजति अग्लो नबन

आकाश ठूलो हुन्छ

तर उसको छातीमा

बादलहरू घुमिरहन्छन्

र कहिलेकाहीँ

उसले आफ्नै उज्यालो

आफैँले देख्न पाउँदैन ।

हिमालजत्रो अग्लो पनि नबन

हिमाल अग्लो हुन्छ

तर शिखरमा

एक्लोपनको हिउँ बस्छ

त्यहाँ न रुख उम्रिन्छ

न चरा लामो समय बास बस्छ

अत्यन्त उचाइले

जीवनलाई टाढा पार्छ ।

अनि नदीजत्रो गहिरो पनि नबन

नदी गहिरो हुन्छ

तर उसको गर्भमा

धेरै रहस्य र भ्वाङ हुन्छन्

जो धेरै गहिराइ खोज्दै जान्छ

कहिलेकाहीँ

त्यही गहिराइमा

हराउन सक्छ ।

बरु तिमी

धर्ती जत्रो बन ।

धर्ती

जसले आकाशको छाया पनि बोक्छ

हिमालको भार पनि थाम्छ, र

नदीको बाटो पनि बनाइदिन्छ ।

धर्ती

बीउको सपना हो

रुखको स्मृति हो

मानिसको पाइला टेक्ने

निशब्द आँगन हो ।

उसले सहन्छ

हिउँ, वर्षा, आँधी

मानिसका लोभ र युद्धका घाउहरू पनि

तर पनि

उही धर्ती

फेरि हरियो उम्रिन्छ

फेरि अन्न फलाउँछ

फेरि जीवन बाँड्छ ।

पुर्खाहरूले यसैले भने

महान् हुनु भनेको

आकाशजस्तो फैलिनु होइन

हिमालजस्तो अग्लिनु होइन

नदीजस्तो गहिरिनु पनि होइन ।

महान् हुनु भनेको

धर्तीजस्तो हुनु हो

सबैलाई धान्ने

सबैलाई दिने

र मौन भएर पनि

जीवनको चक्र घुमाइरहने ।

यही हो

पुर्खाको मुन्धुमले दिएको

गहिरो ज्ञान

तोङसम तोङशिम

जहाँ

मानिस ठूलो हुँदैन

तर उसको हृदय

धर्तीजत्रो फैलिन्छ ।

साझा गर्नुहोस्:
डा. नवराज सुब्बा

लेखकको बारेमा

डा. नवराज सुब्बा

डा. नवराज सुब्बा एक जनस्वास्थ्य विज्ञ, अनुसन्धाता तथा साहित्यकार हुनुहुन्छ । उहाँ अनुसन्धान र लेखनमा रुचि राख्नुहुन्छ । उहाँले जनस्वास्थ्य र इतिहास संस्कृतिमा अनुसन्धानात्मक लेख र पुस्तक लेख्नु भएको छ । उहाँले साहित्य क्षेत्रमा पनि कविता, गीत र निबन्ध सङ्ग्रह प्रकाशित गरिसक्नु भएको छ । उहाँका गीति एलबम तथा भिडियो पनि बजारमा आएका छन् । उहाँका हालसम्म प्रकाशित कृतिहरूमा गीत सङ्ग्रह मन र माटो, सहिदलाई सलाम, जोखनामा वर्तमान (कविता सङ्ग्रह), मनको मझेरी (निबन्ध सङ्ग्रह), जीवन मेरो शब्दकोश (कविता सङ्ग्रह), तुङढुङ्गे मुन्धुम समीक्षा रहेका छन् । उहाँका केही कृति अङ्ग्रेजीमा अनुवादसमेत भएका छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.