सुन ए मनुवा !
पुर्खाहरूले ढुङ्गामा कुँदेर भनेका वचन छन्
हावाले बोक्दै ल्याएको
मुन्धुमको पुरानो स्वर बोल्छन् ।
आकाशजति अग्लो नबन
आकाश ठूलो हुन्छ
तर उसको छातीमा
बादलहरू घुमिरहन्छन्
र कहिलेकाहीँ
उसले आफ्नै उज्यालो
आफैँले देख्न पाउँदैन ।
हिमालजत्रो अग्लो पनि नबन
हिमाल अग्लो हुन्छ
तर शिखरमा
एक्लोपनको हिउँ बस्छ
त्यहाँ न रुख उम्रिन्छ
न चरा लामो समय बास बस्छ
अत्यन्त उचाइले
जीवनलाई टाढा पार्छ ।
अनि नदीजत्रो गहिरो पनि नबन
नदी गहिरो हुन्छ
तर उसको गर्भमा
धेरै रहस्य र भ्वाङ हुन्छन्
जो धेरै गहिराइ खोज्दै जान्छ
कहिलेकाहीँ
त्यही गहिराइमा
हराउन सक्छ ।
बरु तिमी
धर्ती जत्रो बन ।
धर्ती
जसले आकाशको छाया पनि बोक्छ
हिमालको भार पनि थाम्छ, र
नदीको बाटो पनि बनाइदिन्छ ।
धर्ती
बीउको सपना हो
रुखको स्मृति हो
मानिसको पाइला टेक्ने
निशब्द आँगन हो ।
उसले सहन्छ
हिउँ, वर्षा, आँधी
मानिसका लोभ र युद्धका घाउहरू पनि
तर पनि
उही धर्ती
फेरि हरियो उम्रिन्छ
फेरि अन्न फलाउँछ
फेरि जीवन बाँड्छ ।
पुर्खाहरूले यसैले भने
महान् हुनु भनेको
आकाशजस्तो फैलिनु होइन
हिमालजस्तो अग्लिनु होइन
नदीजस्तो गहिरिनु पनि होइन ।
महान् हुनु भनेको
धर्तीजस्तो हुनु हो
सबैलाई धान्ने
सबैलाई दिने
र मौन भएर पनि
जीवनको चक्र घुमाइरहने ।
यही हो
पुर्खाको मुन्धुमले दिएको
गहिरो ज्ञान
तोङसम तोङशिम
जहाँ
मानिस ठूलो हुँदैन
तर उसको हृदय
धर्तीजत्रो फैलिन्छ ।

