देश आज नक्सामा छैन
कसैको खेलको बोर्डमा छ
चेसबोर्डझैँ फैलिएको ।
प्यादा पनि हामी
राजा पनि हामी
तर चाल चाल्ने हात हामी होइनौँ ।
नदेखिने डोरीले हामी
कठपुतलीझैँ हल्लिन्छौँ ।
नारा ठोकिन्छ
नारा आगो बन्छ
आगोमा भाइको नाम पनि जल्छ।
कसैले ऐना देखाउँछ
“हेर, यही तेरो शत्रु !”
हामी ऐना फुटाउँछौँ
थाहा नपाई आफ्नै अनुहार चिरिन्छ ।
कहिले देश सुक्खा खेत बन्छ
बीउ हामी छर्छौँ
पसिना हामी बगाउँछौँ
बाली पाक्दा गोदाम अरूकै भरिन्छ ।
कहिले देश दुई किनाराको नदी
एकै रगतका बस्ती ।
पुल भत्किएपछि ढुङ्गामुढा उफ्रेर एक
अर्कातिर हानिन्छन् ।
नदी हाँस्छ, बाढीको लाभ उसैको हुन्छ ।
समय घडी बनेर टिक–टिक गर्छ ।
माटोले सोध्छ
“अब पनि बुझ्दैनौ ?”
जब आगो बाहिरबाट सल्काइन्छ
जल्ने पराल हामी नै हुन्छौँ ।
अब बुझौँ
असंलग्नता डरले थुन्ने ढोका होइन
विवेकले खोल्ने झ्याल हो ।
सहिष्णुता घाउमा नुन होइन
भोलि निको पार्ने औषधि हो ।
शान्ति हारेर चुप बस्नु होइन
नचाहिने युद्ध जित्नु हो ।
आउनुस्, डोरी काटौँ ।
चाल बुझौँ ।
भाइभाइ नलडौँ
घाउमा नुन होइन
काँधमा हात राखौँ ।
पुल फेरि बनाऔँ ।
खेतमा बीउ आफ्नै भोलिका लागि छरौँ ।
देशलाई प्रयोगशालामा होइन
धड्कनको घर बनाऔँ ।

