म देशका अनगिन्ती वक्ररेखाहरूसँग
आफ्नो साइनो गाँस्दै छु ।
म कोतर्दै छु मेरै भिरका बाँझा पाखाहरू ।
मैले सफलताको सपना देखेर
आकाशमा उड्न चाहने
युवा चराहरूलाई समातेँ
कसैका पखेटा काटेँ
भनेर मेरै देश रङ्गाउनु छ ।
बगिरहेका नदीहरूलाई रोकेँ
बहिरहेको हावालाई सोधेँ
उडिरहेको बादललाई भेटेँ
अब चट्याङझैँ तेजले देशको मुहार फेरिँदै छ ।
बन्दै छन् भत्किएका मनहरू
उठ्दै छन् लडेका लडाकुहरू ।
देशको गुदी जो लुटिएको थियो
अब फिर्ता हुँदै छ परिवर्तनको सपना ।
बिहानै उदाउने घामको प्रकाशसँगै
शुक्ल पक्षको चन्द्रझैँ
अब उदाउँदै छन् समृद्धिका झिल्काहर ।
जसरी शिशिरपछि वसन्त आउँछ
अब आउँदै छ त्यसरी नै सपनापछि बिपना ।
आफैँ बलात्कृत भएर
रगतको आहालमा डुबेकी मेरी चेलीले
अब ओभानो हुने दिन आउँदै छ ।
आउँदै छ शहीदकी आमाको आँसु रोकिने दिन
आउँदै छ मेरो देश
मेरो देश हुने दिन ।

