साहित्यपोस्ट डट कम

कविता : देशको सपना

कविता : देशको सपना

म देशका अनगिन्ती वक्ररेखाहरूसँग

आफ्नो साइनो गाँस्दै छु ।

म कोतर्दै छु मेरै भिरका बाँझा पाखाहरू ।

मैले सफलताको सपना देखेर

आकाशमा उड्न चाहने

युवा चराहरूलाई समातेँ

कसैका पखेटा काटेँ

भनेर मेरै देश रङ्गाउनु छ ।

बगिरहेका नदीहरूलाई रोकेँ

बहिरहेको हावालाई सोधेँ

उडिरहेको बादललाई भेटेँ

अब चट्याङझैँ तेजले देशको मुहार फेरिँदै छ ।

बन्दै छन् भत्किएका मनहरू

उठ्दै छन् लडेका लडाकुहरू ।

देशको गुदी जो लुटिएको थियो

अब फिर्ता हुँदै छ परिवर्तनको सपना ।

बिहानै उदाउने घामको प्रकाशसँगै

शुक्ल पक्षको चन्द्रझैँ

अब उदाउँदै छन् समृद्धिका झिल्काहर ।

जसरी शिशिरपछि वसन्त आउँछ

अब आउँदै छ त्यसरी नै सपनापछि बिपना ।

आफैँ बलात्कृत भएर

रगतको आहालमा डुबेकी मेरी चेलीले

अब ओभानो हुने दिन आउँदै छ ।

आउँदै छ शहीदकी आमाको आँसु रोकिने दिन

आउँदै छ मेरो देश

मेरो देश हुने दिन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.