जब बल्दछ आगो दनदनी
मान्छेका मनहरूमा
अनि सल्किन्छ डढेलो चित्तमा
यो भूमण्डलबाट उडेको अश्रुग्याँसको अत्तरले
आकाश दुर्गन्धित पार्न थाल्दछ हठात् ।
दूरदराजबाट अधिकार माग्न आएका
राष्ट्रका होनहार नव-युवाहरू
ढल्दछन् देशकै आँगनमा बेकसुर।
सडकपेटी र नालीहरूमा बगिरहेको
कलिलो रगतको खोलो फर्काएर
युगले माटोको गर्भमा सिँचाइ गर्न
उठायो साहसिक शिर
उचाल्यो पौरखी पाखुरा
थाप्यो वीरताको छाती ।
त्यहीँबाट मन जल्न थाल्यो
जहाँबाट सपूतहरूको रगतलाई
प्रज्वलनशील इन्धन बनाएर
तिनकै इमानको पुल्ठो बनाएर झोसियो ।
यद्यपि त्यो मृत्यु सस्तो थिएन
बलिदान केवल मर्नु मात्र होइन
यो त युगले फेर्ने नयाँ काँचुली हो ।
ढालिएका जीवनहरू
इतिहासका अमर पानाहरू हुन्
टुटेका स्वरहरू
भोलिको युगीन गीतका राग हुन् ।
सुकेका आँसु
पालुवा बचाउने पानी हुन्
पीडामा खसेका आँसु
महान् बलिदानको आवाज गुञ्जाउँदै
इतिहासका पानामा स्वर्णाक्षरले लेखिनेछन् ।
सहिदका आक्रोशित आँखाबाट
निस्केको ज्वालाले देश जलाउँदैन
बरु दमनको रापबाट निस्केको गोलीले
देशलाई भस्म पार्दछ ।
अनि, ढल्दछन् शान्तिका परेवा धरामा
सँगै उडेर जान्छन् भूमिपुत्रका सपना नभमा
देशलाई शोकमा डुबाएर ।
तथापि, शोक अन्तिम अध्याय होइन
शोक त ऊर्जा हो
सबैको साझा सपना जगाउने
प्रत्येकको स्वर तेजिलो बनाउने ।
जल्नु खरानी हुनु मात्र होइन
जल्नु उज्यालो छर्नु पनि हो ।
कतै आक्रोशको आगोले
कतै आशाको दियालोले
देश जलिरहेको बेला
नजलाऊँ भन्दाभन्दै पनि
जल्दो रहेछ मन अनायास ।
देश जल्नु भनेको त
एउटा मान्छेको
सिङ्गो संसार जल्नु पो रहेछ !

