डियर सोनाम
तिमीले देखाइदियौ कि
संसार कति फराकिलो छ भनेर ।
साना–साना घेराबारामा अल्झिरहने
हामी अल्छीहरूलाई पढाइदियौ
कुनै विश्वविद्यालयले नसकेको
शिक्षाका नाथे सिद्धान्तहरूबीचको
गहन व्यावहारिक पाटोहरू ।
तर सोनाम !
तिमीले झेलेका भाषाका खुड्किलाहरू
तिम्रो संस्कार र संस्कृतिमाथि
पुँजीवादले झम्टिनु अघि
तिमीले आफ्ना विद्यार्थीहरूलाई
सुरक्षित छार्काको काखमा समेट्नुपर्नेछ ।
ती गाउँलेका चलायमान हातगोडा बिसाउनुअघि
तिमीले गाउँलाई गाउँजस्तै बनाउन
एकछिन ‘ब्रेक’ लगाउनु है
किनकि
सडकबाट सधैँ सभ्यता आउँदैन ल !
‘मै हुँ’ भन्ने भाषाको बुई चढेर
सहर तिम्रो गाउँमा छिर्न सक्छ
सजिलै तिमीलाई लुट्न सक्छ ।
त्यसैले उसले लुट्नुअघि नै
उसको उत्ताउलो थुतुनामा
सिङ्गो मानव सभ्यताको
गतिलो झापड हान्नु ल ।
तिमीलाई खिच्न आउनेलाई
तिमीले पनि खिचिदिनु
उनीहरूभन्दा अघि ‘अपलोड’ गरिदिनु
आफूले पस्केका आतिथ्यका मिठा ‘मेनु’ हरू ।
किनकि सोनामहरू कारणसहित जन्मन्छन्
र अर्थसहित बाँच्दछन् ।
सोनाम !
जे छौ, जस्तो छौ, उस्तै हुनु ।
सडक आउनुअघि नै तिमीले यत्ति गर्नु
छार्कालाई तिम्रो आफ्नो बर्कोभित्र लुकाएर राख्नु ।
हामी सबैको माया तिमीलाई !

