साहित्यपोस्ट डट कम

कविता : डिअर नयाँ वर्ष !

कविता : डिअर नयाँ वर्ष !

वसन्तलाई एक फन्को मारेर

फेरि सधैँको वर्षझैँ यो वर्ष पनि

हुलाकीले जस्तो नयाँ–नयाँ खबर बोकेर

उमङ्गहरू, हर्ष र उल्लासका साथ खुसीका बुँदहरू

अञ्जुलीभरि भरेर

मेरो आँगनमा आइपुग्छौ तिमी ।

नयाँ बिहानीसँगै किताबका खाली पानाहरू

मेरो सामुन्ने छाडेर जान्छौ तिमी ।

मसँग खुसीको उत्सव मनाउन

वर्षदिन पछि बडो मुस्किलले केही पल

कलेजीभरि छपक्कै प्रेम भरेर आइपुग्छौ ।

तिमी आउने खबर पाएर धरा पनि पुलकित हुन्छ

धर्तीका फूलहरू रोमाञ्चित हुँदै

तँछाडमछाड गरी मुस्कुराइरहेका हुन्छन् ।

निलो गगन पनि तिम्रो प्रतीक्षामा

सेता–सेता भुवादार बादलका टुक्राहरू गाँसेर

तिमीलाई पर्खिरहेका हुन्छन् ।

तिम्रो स्वागतका लागि चारैतिर

सप्तरङ्गी इन्द्रेणी घडा भरेर उभिन्छन् ।

नदीनाला पनि तिमी आउने खबरले

वर्षदिन सम्म कता–कता अल्मलिएझैँ गरी

गन्तव्य भेट्न हतारो गर्दै बगिरहन्छन् ।

तिमी सबैलाई समयसँगै हिँड्न सिकाउँछौ ।

तर…

तर म भने किन उही पुरानो घडीमा अड्किरहेकी छु !

किन सक्दिनँ म तिमीजस्तै गरी

सबै कुरा चटक्क छाडेर अघि बढ्न !

किन हराइरहेछु यतिका वर्षसम्म आफैँभित्र !

किन अल्झिरहेछु बनावटी मुस्कानहरूमा !

किन भुलिरहेछु पुग्नुपर्ने गन्तव्य !

किन पुतली जस्तै होमिइरहेछु चम्किला बत्तीहरूमा !

किन म चेतना गुमाएको मानवसरी बाँचिरहेछु कसैको इसारामा !

मलाई पनि तिमीजस्तै समयसँगै हिँड्नु छ ।

मलाई भुलाउने, मलाई अल्झाउनेहरूलाई

चटक्क छोडेर एक जोर पखेटा फटफटाएर उचाइ नाप्नु छ ।

माथि–माथि निलो गगनमा बेफिक्रीसँग उडान भर्नु छ ।

यो पालि त मलाई पनि केही सिकाएर जानु

अर्को वसन्त पार गरेर तिमी मेरो दैलोमा आइपुग्दा

म पनि तिमीसँगै हिँड्नका लागि

तम्तयार भएर पर्खिरहनेछु ।

डिअर नयाँ वर्ष !

मलाई पनि आफ्नो पिठ्युँमा बोकेर नयाँ यात्रा गराउनु है !

नयाँ–नयाँ रङहरूले मेरो जीवन पोतिदिनु है !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.