खै, किन हो एक्लै दौडन खोज्छ मान्छे
खै, कुन खुसी भेटाउनलाई हो
बुर्कुसी मारिरहेको !
सिङ्गै आकाश निलेर
डकार मार्ने सोचमा
आफ्नै आफन्तको खुट्टा गिँडेर
दम्भ र घमण्डको बैसाखी टेक्दै
लङ्गडाउँदै एक्लै दौडन्छ।
एउटा पित्तलको खोस्टो समाउनलाई
छिर्के हानेर, धकेल्दै
प्रथम बन्न खोज्छ ।
मृत्युपछि आफ्नै शालिक बनाउनलाई
श्मशानघाट जित्ने होडबाजीमा तछाडमछाड गर्दै
आफ्नो कात्रो आफैँ किन्छ
र किन्छ आफैँलाई जलाउने
केही थुन्का काठहरू ।
तर
तर उसले बिर्सेको छ
किन्नलाई आफ्नै शवयात्रामा जाने मलामी
र घाटसम्म बोकी पुर्याउने
केही थान काँधहरू ।

