साहित्यपोस्ट डट कम

कविता : दौड

कविता : दौड

खै, किन हो एक्लै दौडन खोज्छ मान्छे

खै, कुन खुसी भेटाउनलाई हो

बुर्कुसी मारिरहेको !

सिङ्गै आकाश निलेर

डकार मार्ने सोचमा

आफ्नै आफन्तको खुट्टा गिँडेर

दम्भ र घमण्डको बैसाखी टेक्दै

लङ्गडाउँदै एक्लै दौडन्छ।

एउटा पित्तलको खोस्टो समाउनलाई

छिर्के हानेर, धकेल्दै

प्रथम बन्न खोज्छ ।

मृत्युपछि आफ्नै शालिक बनाउनलाई

श्मशानघाट जित्ने होडबाजीमा तछाडमछाड गर्दै

आफ्नो कात्रो आफैँ किन्छ

र किन्छ आफैँलाई जलाउने

केही थुन्का काठहरू ।

तर

तर उसले बिर्सेको छ

किन्नलाई आफ्नै शवयात्रामा जाने मलामी

र घाटसम्म बोकी पुर्‍याउने

केही थान काँधहरू ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.