भीडको सबैभन्दा ठूलो शक्ति
सङ्ख्या होइन रहेछ
डर रहेछ
किनकि
सङ्ख्या त केवल शरीरहरूको भेला न हो
डर त आत्माहरूको बलियो कारागार ।
सबैभन्दा ठूलो अपराध पनि हत्या रहेनछ
कसैलाई यस्तो बनाइदिनु रहेछ
जो सत्य बोल्नुअघि अनुमति मागोस् ।
मानिसहरू सत्यका लागि लड्दा रहेनछन्
उनीहरू आफ्ना प्रिय भ्रमहरूका लागि लड्दा रहेछन्
सत्यले सुविधा भत्काइदिँदो रहेछ
भ्रमले तिनका सुविधाहरूको सुरक्षा दिने ।
उनीहरूको सपनाको भाषा बोलिरहँदा
तिमी महान् भविष्यद्रष्टा
जब तिमी उनीहरूको निद्रामा प्रश्न उठाउँछौ
तिमी असभ्य, अहङ्कारी, विद्रोही
र कहिलेकाहीँ देशद्रोही पनि ।
तर सोचौँ त
भीडको तालीले सत्य नजन्मिन सक्ने रहेछ
अनि भीडको गालीले सत्यहरू पनि मर्दछन् र ?
सत्य त त्यस्तो अनन्त आकाश रहेछ
जसलाई बादलले केही समय छोप्ने मात्र ।
यहाँ स्वतन्त्र आत्मालाई प्रेम गरिँदो रहेनछ
मात्र आज्ञाकारितालाई
सम्मानको प्रमाणपत्रका थाक
किनकि स्वतन्त्र मानिस
न किन्न सकिने
न डराउन सकिने
न त झुकाउन नै सकिने
ऊ नदीजस्तो
चट्टानले रोके पनि आफ्नो बाटो आफैँ कोर्ने ।
निर्भीक हुनु भनेको
डर नहुनु मात्र होइन रहेछ
त्यो त डरलाई पनि यात्रासँगै लिएर
सत्यको बाटो अङ्गाल्नु रहेछ
किनकि साहस
डरको अनुपस्थिति होइन
डरभन्दा ठूलो अर्थको उपस्थिति रहेछ ।

