साहित्यपोस्ट डट कम

कविता : दङ्ग जनावर

कविता : दङ्ग जनावर

धुम छ

उधुम छ

प्रतिस्पर्धा छ

स्याल, ब्वाँसो र हुँडार

सिनो डकारी-डकारी

को बन्ने ठुलो शाकाहारी ?

पालैपालो घोषणा छ

हैन भन्नेलाई गालीको हकारी छ

हो भन्नेलाई तालीको भकारी छ ।

बाघको छाला ओढेर

थरीथरी रङका स्याल

डाँडा वारिपारि जताततै

एकै स्वरमा हुइँहुइँ गर्छन् ।

आफ्नो ठगी “भगवानकाे हगी” भन्दै

ब्वाँसो र हुँडारको लुट मात्र देख्छन्

‘ठोक्छु-ठोक्छु’ रटान गर्छन्

एक-एक तानाबाना बुन्छन्

“नयाँ हुँ, बेदागी छु” रटान लाउँछन् ।

स्याल भन्दै छ

सिनो छुन्नँ

खरायो खान्नँ

खोरबाट कुखुरा-बाख्रा लान्नँ

घोषणा गर्छ

“हामी शाकाहारी बन्छौँ !”

वर्षौँवर्ष चोसो बजाउने

ब्वाँसो सबैभन्दा चोखो भन्छ

टाटो भए पनि ब्वाँसोमा फाटो छैन

तन्नेरी स्यालसँग दरार छ।

करारमा चर्काचर्की छ

रनवन कसले जलायो ?

स्याल र्‍याखर्‍याख्तीमा छ ।

मांसको अंश नछुई

हात्ती ठुलो हुन सक्छ

ब्वाँसो किन हुन सक्दैन ?

उल्टै प्रतिप्रश्न गर्दै भन्छ

“अब मृगहरू मर्ने छैनन्

अब हरिण हराउने छैनन्

गोठबाट गाई गायब हुने छैनन्

ब्वाँसो अब शाकाहारी बन्ने छ !”

ओढारबाट निस्केका हुँडार

आफैँभित्रको रडाकोले थकान छन्

इतिहासको बखान छन् ।

सिनो लुछाचुँडी, अर्कैलाई दोष छ

भित्र जे भए पनि बाहिर जोस छ

आरोप–प्रत्यारोपमा होस छ ।

स्यालसँग गरम छ

ब्वाँसोसँग नरम छ ।

भन्छ

जङ्गल सबैको साझा हो

अर्ना र भैँसीको हो

जेब्रा र निलगाईको हो ।

हरियो घाँस हाम्रो नीति हो

शाकाहारी बन्ने हाम्रो लक्ष्य हो ।

जङ्गल सबैको साझा हो

अब जङ्गलमा

कोही मारिने छैन

कसैले सिनो खाने छैन

अब केको लुछाचुँडी ?

पालैपालो आउँछन्

पटक-पटक आउँछन् ।

जसले जति ढाँचा फेर्छन्

जसले जति रङ फेर्छन्

उहीसँग दङ्ग छन्

आलाकाँचा जनावर !

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.