साहित्यपोस्ट डट कम

कविता : डढेको पैसा

कविता : डढेको पैसा

(लघुकविता)

युगको एउटा कठघराभित्र

बाँचेर पनि मरेका मान्छेहरू देखियो

र त्यही युगको त्यही कठघराबाहिर

मरेर पनि बाँचेका मान्छेहरू देखियो ।

खै के-के देखियो देखियो

कुनै एउटा भयभीत सपनाझैँ

चिताको अङ्गारमा कालो पैसाको

लास बल्दै निभ्दै… बल्दै निभ्दै छिनमा आगो

छिनमा धुँवा भएर सात दिनसम्म

डढेको पनि देखियो ।

कसलाई लाग्थ्यो होला र

त्यति अग्लो सिँढी भएर अग्लिँदा पनि

त्यति गहिरो छिँडी भएर गहिरिँदा पनि

धनको अवसान यसरी हुन्छ भनेर !

तर अफसोस

आज त्यही डढेको धनले पनि

समयलाई हाँक दिइरहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.