म कन्फ्युज छु सरकार !
तिमीलाई बधाई भनूँ… गरिबहरू बादलमुनि आए
तिमीलाई खबरदारी गरूँ… मलाई मेरो प्रोफाइल उडाउनु छैन।
तिमी आइफोनको फ्ल्यास लाइटमा उज्यालो खोज्छौ
हामीले ओछ्यानबाटै टहटह जून देख्छौँ ।
तिमी भाइरल बन्छौ सुनको विषयमा
मैले नुनको मूल्य तिर्न सकेकी छैन ।
तिमीलाई भीआईपी पक्रिएर भाइरल हुनु छ
मलाई भात पकाउने ग्याँस छैन ।
सुदूरलाई दूर होइन भन्छौ ?
सिटामोलको कुरै हरायो… ।
तिमी मुस्ताङको युरेनियम अमेरिकालाई सुम्पिनु राम्रो भन्छौ
मलाई डर छ— नीति–नियम नै सुम्पिन्छौ कि ?
तिम्रो करोडौँको गाडी छ, मेरो नाडीमा घडी छैन ।
भोट माग्दा “डोजर चले छाती थाप्छु” भन्थ्यौ
आज घाँटी थिचिएको छ ।
आमाको आशीर्वाद भन्दै भोट माग्यौ
त्यो आँखाको आँसुलाई तिम्रो चस्माले छेक्यो ।
विद्यार्थीको रगतले नुहाएर वटुकको वाचकले चोखो बन्यौ
पानी बाँड्ने निहुँमा पेट्रोल बाँड्यौ कि ?
नत्र किन यति सजिलै राष्ट्रिय संरचना ध्वस्त पार्यौ ?
जेल तोड्यौ, कैदी भगायौ
मकैसँगसँगै बैँस पोलेर जम्मा गरेको पैसा पचायौ कसरी ?
यो देश कस्तो बनेको छ, अचम्म लाग्छ
न साथीले साथीत्व चिन्छ
कौवाले काँ–काँ गरेझैँ उसले आफूलाई दर्शाउँछ ।
नबोल्छौ तिमी, न बोल्नेले नै परिवर्तन गरे
फरक यति हो— हिजो लुकेर लुटे, आज हाकाहाकी !
बल्ल बारीमा मकै उम्रन लागेका छन्
तर मेरो पेटमा भोकमरी लागेको छ ।
तिमी कालो सूचीमा परेको बेला नढाकेको होइन
तिम्रा काला व्यवहार थाहा नपाएको पनि होइन ।
न तिमी मेरो दुश्मन, न मित्र, सम्बोधन के गरूँ ?
मैले होस् भन्दै तिम्रा हरेक कुरालाई शिरोपर गरेँ
लत्याउनु त तिम्रो स्वभाव रहेछ ।
ख्याल गर्नु तिमीले पिउने पानीको हर बुँदमा
मैले तिरेको कर छ, जहाँ मेरो सन्तानको भोक र रगत मिसिएको छ ।
राम्रो मान्छेको भिडमा परेका छौ भन्दैमा
तिम्रो आचीको टीका लगाउन कहाँ सकिन्छ र ?
तिमीले चालेका कदमहरू दबदबे हिलोमा छन्
अब बिस्तारै बर्खा लाग्दै छ…
विचार गर, तिम्रो सरकार बगाउँछ कि मेरो घर ?

