साहित्यपोस्ट डट कम

कविता : छोरी सुरक्षित रहुन्

कविता : छोरी सुरक्षित रहुन्

के गर्व गर्नु छ र जन्म दिएर छोरा

छोरा भए कपुत यौन पिपासु मोरा ।

रक्षार्थ खट्न नसके जित हुन्न हार

छोरी सुरक्षित रहुन् छ यही पुकार ।।१।

छन् गिद्धका हुल यहाँ अनिँदो बसेका

चल्लाहरू खबर छन् तिनले डसेका ।

यो हाल सुन्नु नपरोस् अब बारबार

छोरी सुरक्षित रहुन् म गरूँ पुकार ।।२।

हाम्रो समाजछ कतातिर भासिँदै झन्

संस्कार मूल्य सब देख्दछु मासिँदै छन् ।

खोजौँ निदान जड शीघ्र बनोस् किनार

छोरी सुरक्षित रहुन् मनको पुकार ।।३।

आमा अचेत घरमा अलपत्र छोरी

आनन्दको सयर गर्छ उता अघोरी ।

निभ्नेछ झ्याप बिजुली चुँडिनेछ तार

छोरी सुरक्षित रहुन् सबको पुकार ।।४।

यस्तो कडा नियम होस् जति छन् पिपासु

हुन् झार्न बाध्य गहबाट बलिन्द्र आँसु ।

जम्मा भए पनि बुझौँ किन पाँच चार

छोरी सुरक्षित रहुन् जनको पुकार ।।५।

हुन निर्मला र इनिशा कि त अंशु नामी

उर्लेर ज्यान किन लिन्छ सधैँ सुनामी ।

उमुक्त बाज नउडोस् नगरोस् सिकार

छोरी सुरक्षित रहुन् दिलको पुकार ।।६।

सानन्दले घर फिरून् अब ढुक्कसाथ

छोरी निरीह नबनुन् कहिल्यै अनाथ ।

गोडेर फ्याँक्नुछ जरै सब यौन झार

छोरी सुरक्षित रहुन् सुनियोस् पुकार ।।७।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.