साहित्यपोस्ट डट कम

कविता : छोरा मान्छेको आँसु

कविता : छोरा मान्छेको आँसु

कसले भन्यो छोरा मान्छे रुँदैन भनेर ?

मैले आफ्नै आँखाले देखेको छु

मेरो बुवा

भीडमा कडा देखिने मान्छे

एकान्तको अँध्यारोमा

मुटु च्यातिने गरी

धुरुधुरु रोएको ।

उहाँका आँसु कमजोरी थिएनन्

ती त जिम्मेवारीका घाउ थिए।

सन्तानको भविष्य सुरक्षित राख्न

आफ्नै सपना

चुपचाप मेटिएको इतिहास थिए।

दिनभर उहाँ

“पुरुष” भएर उभिनुहुन्थ्यो

राति

“मान्छे” भएर भत्किनुहुन्थ्यो।

हाम्रो हाँसो बचाउन

उहाँले आफ्नै पीडा

मौनतामा गाड्नुभयो।

“पुरुष रुँदैन” भन्ने समाजलाई

उहाँका आँखाले

शब्दविहीन उत्तर दिए।

किनकि

जब छोरा मान्छे रुन्छ

त्यो आँसु मात्र हुँदैन

पूरै परिवारको पीडा

बगिरहेको हुन्छ।

आज म भन्छु

छोरा मान्छेको आँसु कमजोरी होइन

त्यो बलिदानको भाषा हो।

बुवा रोए, त्यसैले हामी टिक्यौँ।

उहाँ भत्किनुभयो

त्यसैले घर उभियो।

ट्याग: सुमन धमला
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.