ऊ एक मजदुर हो
चिया बगानको
जो सदियौंदेखि सिँचेर पसिना माटोमा
उमार्छ हरियो बोट
र, पिलाउँछ देशका नागरिकलाई
आफ्नै मेहनतको गाढा रङ्गको चिया
तर, बिलकुल खुसी छैन ऊ
वञ्चित छ नागरिकताबाट पुस्तौंदेखि
‘क’, ‘ख’, ‘ग’ पढ्ने मुनाहरू गन्दै छन् चियाका पात
तिनै पातसँगै चुँडाइरहेछन् आफ्नै भविष्य
सुकाइरहेछन् आफ्नो पहिचान र नाम
आदिमकालदेखि नै
सरकार,
केही त सोच
उनीहरूले आफ्नै जिन्दगीको रङ्ग
चढाएका छन् चियाका पातमा
उनीहरू पनि नागरिक हुन् यही देशका !

