चौपारीको वरसँगै, बनौँला पिपल भनेर
दिऊँला शीतल वर र पिपलसँगै मिलेर
अनपढ मलाई हर्ष, दियौ कि नर्क पाइनँ थाहा
लेख्न जान्ने भए व्यथा, कोर्थेँ कृति अथाह ।
लोकलाई बुझाउन खिच्यौ, तस्बिर राखी काखमा
प्रतिज्ञा मेरो थियो नि, दिन्छौ कि आँट दुःखमा
एउटीलाई रानी अर्कीलाई खरानी पार्ने कलामा
सिन्दूर मङ्गलसूत्रलाई, किन लगाइदियौ गलामा ?
ती मैला पोसाक धुँदामा, रुँदा आँसुले धोइन्छन्
त्यही पोसाकमा त्यो नर अर्कैका लागि पो सजिन्छन्
म भान्सा कुरि बस्दा उ मध्यरातमा फर्किन्छ
अघाई आई परस्त्रीसँग, उही फेरि झर्किन्छ ।
म रोगी कुरुप भएको, हो प्यारा तिम्रो कारणले
परिवारबाट अपहेलित भएँ, प्यारा तिम्रो कारणले
न भयो हिजो नहोला भोलि, आस छैन मलाई
क्षणिकतामा रमाइ, रुवाउँछौ नारी नारीलाई ।

