धप्प बलेको जोवन
आमाको आँखाको नानी
बाउको जिउने बहाना
एउटा प्रबल सम्भावनाको खानी
अस्ताए ठूलो भीडभाड माझ
रगतले लत्पतिएको एउटा जुत्ता छोडेर ।
राजनीतिको घिनलाग्दो खाडलभित्र
एउटा पनि दाग नलागेको निखुर
देश बनाउँछु भन्ने भविष्यको कर्णधार
बिलाइ गए देशको केन्द्रबाट
रगतले लत्पतिएको एउटा जुत्ता छोडेर ।
एउटा जेन-जेड साँच्चै हराए
आफ्नो चिनो भीडभाडमा छोडेर
सहरका भित्ताहरूमा
ट्रकका ढालाहरूमा
चुनावका भाषणहरूमा
मतपत्रका चिह्नहरूमा
सामाजिक सञ्जालका पोस्टहरूमा
मान्छेको मनमस्तिष्कहरूमा
इतिहासका भर्खरै लेखिएका पानाहरूमा
बाउआमाको झझल्कोहरूमा
रगतले लत्पतिएको एउटा जुत्ता छोडेर ।
हो एउटा जेन-जेड बिलाएकै हुन्
तरकारीमा नुन बिलाए झैँ
राजनीतिको अचानोमा घाँटी थापी
सेलाए आफ्ना तातो रगतका बहावहरू
अनि गए सबैको नजरबाट टाढा
अस्वादिष्ट राजनीतिलाई मसला स्वरूप
रगतले लत्पतिएको एउटा जुत्ता छोडेर ।

