साहित्यपोस्ट डट कम

कविता : चिनो

कविता : चिनो

आज
उसै गरी उडिरहेछ
कन्ऱ्याङकुरूङको हुल
दक्षिणतिर
छानामाथि नीलो आकास बिछ्याएर
लश्कर बसेको छ
खोलाको अविरल यात्रा

ए नाना,
मँ उसै गरी बाँचेको छु आज पनि
जसरी तिम्रो यात्राको अघिल्तिर
बाँचेको छ वनतरूल र लिम्चिम्बुङको बोट
उसै गरी हिँडिरहेको छु म
जसरी हिँडिरहेछन् सफरमा यो पुरातात्त्विक हावा
हो म बाँचेकै छु
जसरी यो सृष्टिमा अटुट
बाँचेको छ हाम्रो आस्था र विश्वास
ए खोला,
ए पाखा,
ए देउराली
त्यता कतै
खाडीको गुन्यु, खाडीको चोली र
खाडीकै पटुकी बाँधेर तान बुन्दै गरेकी
प्राचीन चेलीहरू देख्यौ भने भन्दिनू
उसै गरी बाँचेको छ
बर्षों पहिले तिमीले छाडेको घर
अगेनामा बल्दै गरेको आगो,
आपा, आमाले पुज्दै गरेको तीनचुलो र
भन्दिनू अगेनामा उसै गरी पाक्छन्
तरूल र सिस्नुका पातहरू, र
यो पनि भन्दिनू कि
बर्षोंअघि छाडेर गएको घरको धुरीबाट
उसै गरी निस्कन्छ आगोको धुवाँ

ए नाना,
तिमीले छाडेर गएको
यो घरमा उस्तै छ ममताको काख,
उसै गरी यादहरू बोकेर चल्छ बतास,
उसै गरी सबेरै आइपुग्छ आँगनीमा घाम,
साँझमा जूनताराहरू उदाउँछ उसरी नै
बर्षात् बोकेर आइपुग्छ
छानामाथि बादल
थाहा छैन

कन्दरामा नदी पछ्याउँदै बेसी झन्यौ कि
बादलको पछि लागेर लेक चढ्‌यौ ?
त्यता कतै बिसौनीमा
बाटोमा कतै भाले बासेको सुन्यौ भने
सम्झनु त्यो मेरो खबर हो,
वा अनकन्टार जङ्गलमा
बिनायोको धुन बजेको सुन्यौ भने
सम्झ
बषौंअघि छाडी जाने नानाहरूलाई
खोजिरहेको त्यो धुनको आवाज
मेरै हुनेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.