साहित्यपोस्ट डट कम

कविता : छोरीले समाजलाई फर्काएको जवाफ

कविता : छोरीले समाजलाई फर्काएको जवाफ

जन्मिँदा

समाजले प्रश्न उठायो

“बधाई छ” भन्नुअघि

उसको मूल्य तौलियो।

मानौँ

छोरी होइन,

ऋण बोकेर जन्मिएको

कुनै नामहीन सपना !

बुबाले

चुपचाप तस्बिर हेरे,

समाजले सिकाएको पाठ सम्झँदै

छोरी बचाउने,

बिहे गरेर

र अन्त्यमा

बिदा गर्ने।

तर

छोरीले

त्यो कथा मानेन।

उसले

जन्मँदै

अघिल्लो पुस्ताले लेखेको

भाग्य

च्यातेर

नयाँ अक्षरहरू

रोपिदिई।

“म कमजोर होइन,

म तिमीहरूले

बनाएको

डरको अन्त्य हुँ।”

समाज भन्थ्यो

हाँसो हल्का होस्,

आवाज सानो होस्,

स्वप्न पनि

सीमित होस्।

तर

छोरीले

एउटै सासमा

सबै नियम

उडाइदिई

आवाज बुलन्द बनाइन्,

पाइला कठोर राखिन्,

आँखा

आकाशसम्म

पुर्‍याइन्।

उसको विद्रोहले

बुबाको मौनता फुटायो,

डरको ठाउँमा

गर्व रोप्यो।

आज

उनी भन्छन्

“मेरो छोरीलाई

कसैले

सीमा कोर्न खोज्यो भने

पहिले म उभिन्छु,

त्यसपछि

ऊ अझ अग्लो

उभिन्छ।”

छोरीले

समाजलाई

सम्झाइदिई

छोरी बोझ होइन,

दया होइन,

ऊ त

सम्भावनाको

नाम हो।

यही हो

छोरीले समाजलाई

फर्काएको जवाफ

सम्मान,

समानता

आत्मसम्मानको

आवाज।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.