टोल–टोलमा मन्दिर भएर के गर्नु ?
पाइला–पाइलामा पापी बसेपछि !
देउता खोज्दै मन्दिर किन धाउनु ?
ढुङ्गाको मूर्तिलाई फूल किन चढाउनु ?
जब परिवारबाट
घरभित्रै बुहारीले
जिउँदै जल्नु परेपछि !
माया देखाउने श्रीमानले पनि केही समयपछि
किन बिर्सन्छ चोखो मायालाई ?
उसको मौनताले नै हो
आफ्नाहरू पराइ भएको
अपराधीलाई बल पुगेको
घरभित्र थुनेर
शरीरमा पेट्रोल छर्की आगो लगाएको !
के छोरी बलात्कृत भएपछि मर्नै पर्ने हो र ?
किन उसको सासभन्दा ठुलो हुन्छ
समाजको झुटो इज्जत ?
किन बिर्सन्छ मान्छेले
आफ्नो घरमा पनि छोरी–बहिनी छन् भन्ने कुरा ?
जब अपराधी आफ्नै हुन्छ नि
हो, त्यतिबेला न्याय किन अनाथ बन्छ ?
यदि यही न्याय हो, यही नियति हो भने
जन्मनसाथ मारिदेऊ न आमा !
कम्तीमा
पराइको हातबाट
निर्ममताका साथ लुछिएर मर्नु पर्दैनथ्यो ।
मन्दिर होइन, मानवता चाहियो ।
देउता होइन, न्याय चाहियो ।
छोरी पनि मान्छे हुन्
बाँच्ने अधिकार छ
छोरीको जीवन पनि मूल्यवान् छ।
समाजमा स्वतन्त्र भएर
बाँच्न देऊ
छोरी–बुहारीलाई !

