साहित्यपोस्ट डट कम

कविता : छिमेकी

कविता : छिमेकी

मेरो करेसो नजिकै छ साथी

आत्मा छ घाती अपराध माथि

आचार छोडी अतिचार गोड्छ

गाली नमीठो अविराम छोड्छ ।

उठ्तै बिहानीपख मुर्मुरिन्छ

सर्किन्छ आफैँ अनि जुर्मुरिन्छ

चाहिन्न ठूलो कसुरादि केही

पोखिन्छ ठाडै अपराध देही ।

बच्चा कुदोस् त्यो निहुँ नै बनिन्छ

हेर्‍यो खडा भै अब झन् खनिन्छ

बोल्दै नबोलौँ पनि क्रोध भर्छ

बोलौँभने तापनि ठस्स पर्छ ।

कालो मसी के अझ त्यै छ कालो

राँगो छ हान्ने भयको भँगालो

तर्साउने भैकन हिँड्छ जैले

रोएर बाँच्ने म छु एक ऐले ।

देखेर रुन्छन् बचरा जहान

झम्टन्छ उल्टै नकटो हराम

ए भाइ ! यस्तो नगरौँ न भन्दा

खाइन्छ आफैँ दस–पन्ध्र डण्डा ।

कस्तो दिनैमा घर यो किनेँछु

आफ्नो जवानी पसिना छिनेछु

जुन् आँसु मेरा परिवार झार्छन्

आगो उकेल्छन् अनि राप ताप्छन् ।

यौटा दरिद्री मन हाँस्न सक्छ

रोएर आफैँ पनि बाँच्न सक्छ

हाँसो म कल्पूँ कुन आसभित्र ?

ज्वाला छुटेको हर श्वास भित्र ।

तोडेर घेरा अभिमन्न्यु बाँच्ला

सौदामिनीमा पनि रात हाँस्ला

पर्दा छिमेकी अति दुष्ट भान्से

सक्तैन कैल्यै पनि हाँस्न मान्छे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.