साहित्यपोस्ट डट कम

कविता : छन्द महिमा

कविता : छन्द महिमा

हरेक शब्द शब्दमा छ छन्द ताल मोहनी

अभाव भाव भिन्नमै छ छन्द जाल मोहनी

छ वेद वर्ण वर्णमा सुवास छन्द माधुरी

म भेट्छु पर्ण पर्णमा पराग छन्द माधुरी ।। १ ।।

छ कोइली कुहूकुहू वनै रनक्क गीतमा

बडो मजा छ छन्दको मुनाल नाच प्रीतमा

वसन्त वाग रागमा सुगन्ध छन्द पुष्कर

अहो जताततै छ छन्दकै प्रदीप्त भास्कर ।। २ ।।

भए नि भित्र भिन्नता प्रगाढ लाग्छ मित्रता

बुझे त यै समाजमा अचम्मको छ एकता

उठेर हेर ती चरा उडे सँगै बथानमा

छ छैन हेर छन्दकै विधान त्यो उडानमा ।। ३ ।।

छ ओठ लाल छन्दमा छ केशपाश छन्दमा

छ पाउ बाहु छन्दमा र सास चल्छ छन्दमा

प्रिया दिनै लगाउँछिन् सछन्द चक्षु अञ्जन

जहाँ म हेर्छु त्यै कुरा म देख्छु छन्द रञ्जन ।। ४ ।।

बिहान हुन्छ छन्दमा चिहान हुन्छ छन्दमा

म प्रेम बुन्छु छन्दमा घृणा म रुन्छु छन्दमा

बतास खास चल्छ झन् बहेर एक छन्दमा

छ घाम जून छन्दमा प्रकाश हुन्छ छन्दमा ।। ५ ।।

छ भित्रको जरा जरा अझै छ पात पातमा

म देख्छु छन्द छन्दकै छ स्वप्न रात रातमा

म लेख्छु छन्द छन्दमै सुकाव्य बात बातमा

म उठ्छु छन्दमै सदा नवीन भै प्रभातमा ।। ६ ।।

सुवास खास फूलमा छ छन्द राज सौरभ

हिमाल हाँस्छ छन्दमै सजेर ताज गौरव

ससीम बस्छ छन्दमै पुगेर हेर सागर

हरेक वस्तु छन्दमै बिना सुछन्द के छ र ? ।। ७ ।।

रहेर छन्द सूत्रमै बदल्छ चक्र सृष्टिले

भएर छन्द युक्त नै म देख्न सक्छु दृष्टिले

उडेर वायु छन्दमै झरी नि झर्छ छन्दमै

कठै छु कोपिला फुली म झर्नु पर्छ छन्दमै।।८।।

छरेर छन्दको छटा अपूर्व पूर्व मूलका

धरेर बासना मिठो फुले सुकाव्य फूलका

कुँदेर छन्दकै कला सिँगारले भरी भरी

उनेर पुष्प छन्दकै बगान छन् थरी थरी ।।९।।

म सुत्छु छन्दमा मिली ब्युँझन्छु छन्दमा रमी

म हिँड्छु छन्दमै सदा म बोल्छु छन्दमै गमी

म सुन्छु छन्दमै सबै तरङ्ग रङ्ग साथले

म लेख्छु भाग्य छन्दमै यिनै पवित्र हातले।।१०।।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.