अशान्त मनले
छटपटीलाई मनमस्तिष्कमा च्यापेर
शान्तिको एक निद्रा सुत्न खोज्छ
शान्ति अँध्यारोमा कतै हराउँछ
आनन्द आफ्नै कुनै बहानामा
झन् टाढा झन् टाढा हुन्छ ।
हरपल आकुल-व्याकुल बनाउँछ मनलाई
छटपटी छोप्न अनुहारमा पोतेको मुस्कान
खलखली पसिनाले बगाउँछ
व्यर्थैको हाँसो हाँस्न खोज्दा
रुवाइ पो बन्ने हो कि भन्ने त्रासले
मन झन् छटपटिन थाल्छ
मस्तिष्क टनटनी दुख्न थाल्छ ।
कहिले घामले खेद्न थाल्छ
कहिले असिनापानीले चुट्न थाल्छ
बाटोमा पनि काँडाको अवरोध हुन्छ
फूल टिप्ने अथक प्रयत्न गर्दा
खै किन हो, काँडा मात्र हात लाग्छ ।
खै केले हो हरदम दरफराउँछ मनलाई
परिभाषित हुन नसकेको छटपटीले
मलम खोजेर लाऊँ भन्दा
मस्तिष्क उद्वेलित हुन थाल्छ
किन हुन्छ यो छटपटी ?
मस्तिष्क भकभक किन उम्लिन्छ ?
सम्भावित उत्तर खोज्दै मन पुरानो इनारमा पस्छ
पात, पतकर, हिलोमैलो हटाउँछ
भ्यागुता, बिच्छी, कीरा, फट्याङ्ग्राहरूलाई
पन्छ्याउँदै अघि बढ्दै जाँदा
मनले कल्पनाको गगनमा मगन भएर
बेलुनसरी उडान भर्न थाल्छ
कतै यो पुरानो इनारभित्र
सदियौँदेखि थुनिएको हीरा, मोती, जवाहरात मुक्तिको आसमा
मनकै प्रतीक्षा गरिरहेको त छैन ?

