मौसम छ चटकको
आउँछन् अनेक चटकीहरू
छोपेर मुहार मुकुन्डोले
गर्छन् बग्रेल्ती चटकहरू ।
जातको जादु जगाउँछन्
सम्प्रदायको साँचो सोझ्याउँछन्
सपनामा सैर गराउँछन्
पैसाको पाइन पोख्छन्
भतेरको भेल बगाउँछन् ।
सबै गर्छन् उनीहरू
गर्न हुने पनि गर्छन्
गर्न नहुने पनि गर्छन्
र फिँजाउँछन् इन्द्रजाल
वाल्ल पर्दै हामी
ठोक्छौँ त्यसैमा ताल !
तानिन्छौँ हामी उतैतिर मानौँ
उनीहरू चुम्बक हुन्
हामी एउटा फलाम हौँ ।
बत्तीमा झुम्मिएको पुतलीझैँ
हामी आकर्षणले बाँधिन्छौँ
शुद्धि गुमाएर हामी
एउटा छाप टाँस्छौँ ।
सम्मोहनले बाँधिएर हामी
एउटा छाप लगाउँछौँ ।
र केही समयपछि
चुम्बकीय क्षेत्रबाट टाढिएपछि
बल्ल बुझ्न थाल्छौँ
हामी त फलाम भइसकेछौँ
खिया लागेको !
हामी त रमिते मात्र रहेछौँ
त्यस चटकीको ।
झस्किएर झल्याँस हुँदै
आफ्नै पुर्पुरो ठोक्छौँ
अनि एउटा सुस्केरो निस्कन्छ
“खुइय्य!” अनि एउटा आवाज निस्कन्छ “थुक्क!”
केही वर्षपछि मौसम उही
फेरि ऐजन, ऐजन, ऐजन………

