साहित्यपोस्ट डट कम

कविता : बुख्याचा

कविता : बुख्याचा

यहाँ हरेक बिहान सुरुवात हुन्छ

एउटा अघोषित द्वन्द्व

नियति र श्रमका बीचमा

जहाँ एउटाले झम्टिन खोजिरहन्छ

अर्को छेलिँदै–छेलिँदै

लिस्नो उक्लिन खोजिरहन्छ

सर्प–सिँढीको खेलमा झैँ गुर्काएर

अगणित सम्भावनाका डाइसहरू ।

यहाँ हरेक बिहान बोकेर

खर्पनभरि उदाउँदा सूर्यहरू

पाइला चालिरहन्छ जिन्दगी

सँगाल्दै मनभरि आशा र भरोसाका फूल।

तर, जब बिस्तारै बिलाउँछ

घामको उज्यालो उडाउँछ

हावाले परिश्रमका विभूतिहरू

तब डस्न थाल्छन् विषालु अँध्यारा रातले।

अनि फेरि आगोभन्दा पनि बेसी पोल्ने भएर,

हावाभन्दा पनि अति पातला भएर

वितन्डा मच्चाउने सामुद्रिक आँधी र सुनामीझैँ

उठ्छन् ती अनेकन सवालहरू मनभरि

जुन वर्षौँदेखि अनुत्तरित छन् ।

यहाँ हरेक रात सपना र वास्तविकताबिच हुन्छन्

अपरिभाषित सौदाबाजी

जहाँ जिन्दगी गर्दै जान्छ बुँदा बुँदामा सम्झौता ।

अन्त्यहीन चक्रझैँ हरेक बिहान भालेका डाकसँगै

फेरि उदाउँछ उज्यालो बोकेर

नयाँ सङ्घर्षका आयामहरू ।

यो सब तमासा खलियानका डिलबाट नजर गरिरहेछ

एउटा निष्प्राण बुख्याचा

जो सदा एउटै ठाउँबाट रखवारी गरिरहन्छ ।

उहीँ अडेको छ

उहीँ यथास्थितिमा छ

अनि जुध्दै हावासँग, पानीसँग र समयसँग

अनि नियतिको निर्दयी खेलसँग ।

ऊ बोल्न सक्दैन

ऊ लड्न सक्दैन

ऊ केवल उभिरहन्छ

र नियालिरहन्छ

आफ्नै चलायमान प्रतिबिम्ब ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.