साहित्यपोस्ट डट कम

कविता : विवश

कविता : विवश

म हुँ देशको होनहार युवा

छिटछिटो म अघि जान्छु।

देशको लागि डलर कमाउन

बेचिदिए कल–कारखाना

खोसिदिए रोजगार हाम्रा

आज रिझाउँदैछन् कसलाई ?

देश र जनतालाई निराश बनाउँदै,

सर्वहाराको भेषमा आई खुसी पार्दैछन्

सामन्तीलाई ।

ट्वारट्वार गर्दै आवाज आउँछ

मान्छेको हो कि भ्यागुताको ?

निरर्थक आवाजले कान टट्ट्याउने

सर्वहाराको नकाब लगाई

सामन्तीको सङ्गतमा रमाई।

आयले थेग्दैन तिनीहरूको खर्च

गरिब देशमा सामन्तीको राज ।

शिक्षा, स्वास्थ्य छन् तिनकै अधीनमा

परेका छन् जनता बिलखबन्द ।

धुरुधुरु रुन्छिन् धरती माता

आफ्नै सन्तानमा विभेद देखेर।

लौ आयो अर्को रातो बाकस

डलर भित्र्याइदिने युवाको लास ।

सिन्दूर पुछियो अर्की नारीको

एकल नारीको सङ्ख्या बढ्यो ।

कस्ता थिए बाबु चिन्न नपाई

अबोध बालक टुहुरो बनाइयो ।

खाली ठाउँ भर्नका लागि अर्को युवा तयार भयो

दाम बुझाउन लाइनमा ठडियो

युवाविहीन देश हुने भयो ।

यस्तै छ हाल मेरो देशको

किञ्चित् भाव छैन शासकमा ।

रसरङ्गमा छ सामन्तीसँग

महत्त्व छैन सिन्दूर–पोतेको ।

फर्कन्छन् युवा रातो बाकसमा

भन्छन्— आएको देश बनाउन

जनताको नजरमा स्वयं बनेको ।

विवश छु म टुलुटुलु हेर्न

देश र जनता हरदम ठगिएको ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.