बिहानै वासन्ती, सिरिरिरि पसी बाग-वनमा ।
टिपी ल्याई बास्ना, झनझन बढ्यो राग मनमा ।।
उडे डाली डाली, भ्रमर पुतली रामरमिता !
हिलायो हावाले, फिलिलि कलिला रङ्गिन पता ।।- १
फलेदो फक्रियो, पतझर गयो; मञ्जु सब ती !
भयो सेरोफेरो महकमय; मीठो परिणति !
चरीले फैलायो, विरह मनको राग-धुनमा ।
कविता जन्मी यो; कविहृदय पग्ल्यो पवनमा ! – २
वसन्ती वेला यो, कविवर बसे लेख्न कविता ।
छ छोप्नु यो मौका, खनजोत गरी रोप्नु छ धरा ।।
‘कुहू’ कोईलीको, रनवन बगेका बखतमा ।
बिजूली झैँ दौड्यो, कवि-कलम त्यो तेज गतिमा ! – ३
बगैँचाका वास्ना, विलय नहुँदै, फूल रहँदै ।
दरौँदी चेपेमा, भलजल नपस्दै न:धमिलिँदै ।।
चमेली झैँ बास्ना, नरमपन, बोक्दै गहनता ।
तयारी भो काब्य, सबतिर फिँजायो प्रविणता ! – ४

