साहित्यपोस्ट डट कम

कविता : विद्रोही नियम

कविता : विद्रोही नियम

खण्ड–खण्डमा विभाजित भएको समयले

तिमी र मलाई पनि छुट्याएको छ ।

यो ब्रह्माण्डको

एण्ट्रोपी सधैँ बढ्दै जान्छ रे

सबै कुरा बिग्रिँदै, बुढो हुँदै जान्छ रे ।

ताराहरू पनि एक दिन थाकेर झर्नेछन्

पृथ्वीको घुमाइ पनि ढिलो हुँदै जानेछ ।

उफ् ! यो समयको नियम !

तर तिम्रा यादहरूले भने समयको नियम मान्दैनन्, हो ?

ती त अझै पनि उत्तिकै ताजा छन् ।

समयले जतिसुकै टुक्रा पारोस्

तिम्रा सम्झनाहरूले ब्रह्माण्डको एण्ट्रोपी लाई नै चुनौती दिन्छन् ।

ती त उल्टो दिशामा बग्छन् ।

मलाई लाग्छ

यो ब्रह्माण्ड बुढो हुँदै गए पनि

मेरो मनभित्रको एउटा सानो कुनामा

समयको घडी बन्द छ

एण्ट्रोपी शून्य छ

र हामी अझै पनि एउटै आकाशमुनि

एक–अर्काको नजिकै छौँ ।

आजकल लाग्छ

प्रेम भनेको ब्रह्माण्डको सबैभन्दा बलियो

सबैभन्दा विद्रोही नियम हो

जसले कहिल्यै बढ्दो एण्ट्रोपी लाई

स्वीकार गर्दैन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.