खण्ड–खण्डमा विभाजित भएको समयले
तिमी र मलाई पनि छुट्याएको छ ।
यो ब्रह्माण्डको
एण्ट्रोपी सधैँ बढ्दै जान्छ रे
सबै कुरा बिग्रिँदै, बुढो हुँदै जान्छ रे ।
ताराहरू पनि एक दिन थाकेर झर्नेछन्
पृथ्वीको घुमाइ पनि ढिलो हुँदै जानेछ ।
उफ् ! यो समयको नियम !
तर तिम्रा यादहरूले भने समयको नियम मान्दैनन्, हो ?
ती त अझै पनि उत्तिकै ताजा छन् ।
समयले जतिसुकै टुक्रा पारोस्
तिम्रा सम्झनाहरूले ब्रह्माण्डको एण्ट्रोपी लाई नै चुनौती दिन्छन् ।
ती त उल्टो दिशामा बग्छन् ।
मलाई लाग्छ
यो ब्रह्माण्ड बुढो हुँदै गए पनि
मेरो मनभित्रको एउटा सानो कुनामा
समयको घडी बन्द छ
एण्ट्रोपी शून्य छ
र हामी अझै पनि एउटै आकाशमुनि
एक–अर्काको नजिकै छौँ ।
आजकल लाग्छ
प्रेम भनेको ब्रह्माण्डको सबैभन्दा बलियो
सबैभन्दा विद्रोही नियम हो
जसले कहिल्यै बढ्दो एण्ट्रोपी लाई
स्वीकार गर्दैन ।

