म मिल्ने भए
मेरी दिवङ्गत आमालाई ल्याएर आज
आदरणीय कविवरका कविता सुनाउँथेँ
आँखाभरि पोखेर निद्रा
आमाका सपनाहरू सजाउँथेँ !
ऊ…… त्यहाँ… तल… ,
वरपिपलको बोट रोपेर
चौतारो बनाई
विच्छेद नहुने गरी
वरपिपलको विवाह गराइदिन्थेँ
म मिल्ने भए !
म मिल्ने भए
बाहिर ढुङ्गामाटो
भित्र मायाको न्यानो घर सजाएर
बार्दलीमा बाका दुःखका बाछिटाहरू सुकाउँथेँ
सुखका घाम नडुबुन्जेल !
म मिल्ने भए
फलैँचामा फलेका हजुरबाका
हजारौँ श्लोक भाका हालेर सुनाउँथेँ ।
अझै मिल्ने भए
काँधमा त्यही रेडियो नेपाल बोकेर
कानमा उही बीस वर्षअघिको “मधुवन”
र
मधुवनको मीठो स्वर सुनाउँथेँ
म मिल्ने भए !
तर
आज यो सब सुन्नलाई गाउँ छैन !
हेर्नलाई सहर मात्र बाँकी छ !
अनि
अब मिल्छ कि भन्ने
एउटा मात्र आशाको त्यान्द्रो बाँकी छ
मेरो
जेन्जी (Gen-Z) माथि
कम्तीमा तिनले
भ्रष्टाचारसित मितेरी गाँस्ने छैनन् !
र
अब मिल्ने भए सायद
आफूसँगै र आमासँगै
विदेशिएको देशलाई
ससम्मान स्वदेश फिर्ता पठाउँथेँ !

